इब्राहिमोभिच चम्कँदा मिलान विजयी

एजेन्सी – भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिचको गोल मद्धतमा एसी मिलानले इटालियन सिरी ‘ए’ मा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा मिलानले काग्लियारीलाई २–० ले पराजित गरेको हो ।

मिलानको जितमा राफाइल लीओ र ज्लाटन इब्राहिमोविचले गोल गरे । खेलको ४६औं मिनेटमा राफाइलले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाए । ६४ औं मिनेटमा इब्राहिमोवभचले गोल गर्दै मिलानलाई २–० को जित दिलाए । यसै सिजन मिलानमा आएका इब्राहिमोभिचले मिलानका लागि दुई खेल खेल्दै पहिलो गोल गर्न सफल भएका हुन् ।

यससँगै ३८ वर्षे स्वीडेनका इभ्राहिमोभिचले २१ वर्षे व्यवसायिक खेल दौरानमा ४७५ गोल गर्न सफल भए । उनले १९९९ अक्टोवरमा माल्मोबाट खेल्दै भस्त्र फ्लोरुन्डाविरुद्ध गोल गरेका थिए । उनले ९ विभिन्न क्लबबाट आफ्नो खेल कौसल देखाइसकेका छन् ।

माल्मोबाट व्यवसायिक खेल करियर शुरु गरेका इभ्राहिमोभिचले आयाक्स, युभेन्टस, इन्टर मिलान, बार्सिलोना, एसी मिलान, पीएसजी, म्यानचेस्टर युनाइटेड र एलए ग्यालेक्सीबाट खेलिसकेका छन् । उनी यसै विन्टरमा मिलानमा ६ महिनाका लागि अनुबन्धित भएका थिए ।जितसँगै मिलानले १९ खेलबाट २५ अंक जोडेर आठौ स्थानमा उक्लिएको छ । २९ अंक जोडेको काग्लियारी छैटौं स्थानमा छ ।

सिरी ‘ए कै अर्काे खेलमा इन्टर मिलान एटलान्टासँग १–१ गोलको बराबरीमा रोकिएको छ । इन्टरका लाउटारो मार्टिनेजले तथा एटलान्टाका रोविन गोसेन्सले गोल गरे ।

बराबरीपछि इन्टरले शीर्ष स्थानमा युभेन्टसविरुद्ध एक अंकको अग्रता बनाएको छ । इन्टरको १९ खेलबाट ४६ अंक छ । एक खेल कम खेलको युभेन्टसको ४५ अंक छ । एटलान्टा ३५ अंकसहित पाँचौ स्थानमा छ ।

प्रकाशित : , ०, ००६:५०

फाइनलमा अपराजित जिदानको रियल म्याड्रिड : दुर्लभ सफलता हात पार्ने मौका !