डुङ्गा दुर्घटनामा कम्तीमा १२ आप्रवासीको ज्यान गयो !

एजेन्सी – भूमध्यसागरीय क्षेत्रमा शनिबार डुङ्गा दुर्घटना हुँदा कम्तीमा १२ आप्रवासी शरणार्थीको ज्यान गएको ग्रीसका सामुद्रिक सुरक्षा अधिकारीले बताएका छन् ।

पश्चिमी ग्रीस र इटालीको दक्षिणमा भूमध्यसागरलाई जोड्ने सहायक इयोनियाली समूद्र हुँदै आप्रबासीको एक समूह इटालीको पासीतर्फ आउँने क्रममा डुङ्गा दुर्घटना भएको हो । डुङ्गामा कम्तीमा ५० जना रहेका बताइएको छ । ग्रीक सामुद्रिक अधिकारीका अनुसार २० भन्दा बढी व्यक्तिलाई सकुशल उद्धार गरिएको छ भने शनिबारसम्म उद्धारकार्य जारी रहेको छ ।

“अहिलेसम्म १२ मृत शरीरलाई समुद्रबाट बाहिर निकालिएको छ भने २० जनाभन्दा बढी व्यक्तिलाई सकुशल उद्धार गरिएको छ,”ग्रीक अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । घाइते अवस्थामा उद्धार गरिएका तीनजनालाई हेलिकोप्टरमार्फत् उपचारका लागि नजिकको अस्पतालमा पठाइएको छ ।

उक्त मार्ग सामान्य डुङ्गामा यात्रा गर्नका लागि जोखिमयुक्त मानिन्छ तर गरिबी र द्वन्द्वका कारण केही खाडी राष्ट्र र एशियाली मुलुक र अफ्रिकी मुलुकबाट आउने शरणार्थीहरूले उक्त मार्गको प्रयोग गरी यूरोप प्रवेश गर्ने गरेका छन् । असुरक्षित डुङ्गा यात्राका क्रममा उक्त क्षेत्रमा हजारौँ व्यक्तिले ज्यान गुमाएका छन् ।

संयुक्त राष्ट्रसंघको तथ्याङ्क अनुसार सन् २०१९ मा समुद्रको बाटो ग्रीस पुग्ने व्यक्तिको सङ्ख्या ५५ हजार पुगेको छ भने १४ हजार व्यक्ति टर्की हुँदै जङ्गली मार्गबाट यूरोप पुगेका छन् ।

ग्रीसको नयाँ अनुदारवादी सरकारले जोखिम मोलेर ग्रीस पुगेका शरणार्थीलाई धान्न नसक्ने भन्दै ग्रीस छिर्ने नाकामा कडाइ गरिदिँदा उनीहरूले थप जोखिम मोलेर यात्राका लागि असुरक्षित घोषणा गरिएका क्षेत्रबाट प्रवेशका लागि प्रयास गर्ने गरेका छन् । फलतः उक्त क्षेत्रमा दैनिकजस्तो आप्रबासी शरणार्थी बोकेर आउने डुङ्गाहरू दुर्घटनामा पर्ने गरेका छन् ।

प्रकाशित : , ०, ०१४:१७

आँधीका कारण एघारको ज्यान गयो, बाह्र सय उडान रद्द