बार्सिलोना र मेस्सीको बाक्लो समर्थनका बीच एटलेटिकोले बार्सिलोनालाई हार चखायो !

एजेन्सी –  स्पेनिस सुपर कप अन्तर्गत बिहीबार साउदी अरेबियामा सम्पन्न दोस्रो सेमिफाइनलमा एटलेटिको म्याड्रिडले बार्सिलोनालाई ३-२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ ।

पहिलो हाफमा दुवै टोलीबाट गोल हुन नसकेपछि दोस्रो हाफमा खेलले रोमान्चक मोड लिएको थियो । दोस्रो हाफमा दुवै टोलीबाट कुल ५ गोल हुँदा बार्सिलोनाले गरेको थप दुई गोलले मान्यता पाएन । दोस्रो हाफको सुरुवातमै कोकेले गोल गर्दै एटलेटिकोलाई अग्रता दिलाएका थिए ।

त्यसपछि लिओनेल मेस्सी र एन्टोइन ग्रिज्मनले गोल फर्काएर बार्सिलोनालाई अग्रता दिलाए । खेलको अन्तिम समयमा संयमित रहेको एटलेटिकोले अल्भारो मोराटाको पेनाल्टीमा खेल पुन: बराबरीमा ल्यायो । र त्यसपछि एन्जल कोरियाको गोलसँगै एटलेटिकोले खेलमा अग्रता लिएको थियो । उक्त गोल नै एटलेटिकोलाई फाइनलमा पर्यौं पर्याप्त रहयो ।

साउदीमा भएको खेलमा बार्सिलोना र अझ विशेष मेस्सीको समर्थनमा बाक्लो संख्यामा दर्शकको उपस्थिति रहेको थियो । पहिलो हाफमा नै बार्सिलोनाले अग्रता लिने अवसर सिर्जना गरेको थियो । मेस्सीले जोर्डी अल्बासँग सुन्दर १-२ पास खेल्दै गरेको प्रहार गोलरक्षक यान ओब्लाकले विफल पारेका थिए । पहिलो हाफको अन्त्यतिर पनि ओब्लाकले ग्रिज्मनको प्रहार बचाए ।

दोस्रो हाफमा सिमिओनीले हेक्टर हरेरालाई बाहिर राख्दै कोकेलाई मैदान प्रवेश गराए । र उक्त परिवर्तन नै खेलको पहिलो गोल निकाल्न निर्णायक रहयो ।  कोरिया र जोआओ फेलिक्सले राम्रो मुभ सिर्जना गरेपछि कोकेले गोल गरेका थिए । तर बार्सिलोनाले खेलमा फर्कन लामो समय कुर्न परेन । मेस्सीले ५१ औं मिनेटमा कोके र स्टेफान साभिचलाई छक्याउँदै कमजोर दायाँ खुट्टाले गोल गर्न सफल रहे ।

मेस्सीले केहीबेरमा नै दोस्रो गोल गरेपनि रेफ्रीले भीएआरको सहायताले हेर्दा गोल गर्नुअघि उनको हातमा लागेको पत्ता लागेसँगै गोललाई मान्यता दिएनन् । तर त्यसपछि भने बार्सिलोनाले अग्रता लियो । ६२ औं मिनेटमा एटलेटिकोका पूर्व खेलाडी  ग्रिज्मनले बार्सिलोनालाई अगाडि बढाए ।  लुइस सुआरेजको हेडरलाई ओब्लाकले बचाएपनि रिबाउन्डमा ग्रिज्मन गोल गर्न सफल भएका थिए ।

सिमिओनीले खेलमा पछि परेपछि दुई खेलाडी परिवर्तन गरे । यसका बाबजुद आक्रमणमा रहेको बार्सिलोनाले अर्को गोल गर्यो तर मान्यता पाएन । भिडालको पासमा जेरार्ड पिकेले गोल गरेपनि भीएआरमा हेर्दा भिडालले मेस्सीबाट पास लिनेबेला नै उनी अफसाइड रहेको देखिएको थियो ।

८१ औं मिनेटमा बार्सिलोनाका गोलरक्षक नेटोले भितोलोलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि एटलेटिकोले पेनाल्टी पायो । उक्त पेनाल्टीलाई अल्भारो मोराटाले सहजै गोलमा परिणत गरे । त्यसको ५ मिनेटमा नै एटलेटिकोले अग्रता लियो । डिफेन्समा लगातार गल्ति गरेको बार्सिलोनाका लागि यसपटक पिकेले बल गुमाउँदा कोरियाले गरेको अन्तिम प्रहार नेटोको हातमा लाग्दै गोलमा परिणत भयो ।

बार्सिलोनाले अन्तिममा अन्सु फातीलाई मैदान प्रवेश गराएपनि छोटो समयमा उनले केहि गर्न सकेनन् । अब एटलेटिकोले आइतबार हुने फाइनलमा उपाधिका लागि रियल म्याड्रिडको सामना गर्नेछ । रियलले बुधबार पहिलो सेमिफाइनलमा भ्यालेन्सियालाई पराजित गरेको थियो ।

प्रकाशित : , ०, ००४:५४

मेलबर्न डर्बी : सन्दीपले लिए २ महत्वपूर्ण विकेट !