मनमोहनलाई ‘सेल्टर’ दिने मजदूर योद्धा सतालसिंहको निधन

सांकेतिक तस्विर

भद्रपुर – पञ्चायतविरुद्ध आन्दोलन गरेका नेपालका कम्युनिष्ट नेतालाई ‘सेल्टर’ दिने झापाली मजदूर नेता सतालसिंह राजवंशीको निधन भएको छ ।

मेचीनगर–१५ ज्यामिरगढीका ७६ वर्षीय राजवंशीको बुधबार राति निजी निवासमा निधन भएको थियो । बिहीबारै स्थानीय हडिया खोलामा पार्टीको झण्डा ओढाएर उनको अन्त्येष्टि गरिएको छ ।

झापा विद्रोहअघि र पछि नेपालका कम्युनिष्ट नेता मनमोहन अधिकारी, सिपी मैनाली, राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी, मदन खपाङ्गीलगायतलाई सतालसिंहले त्यसबेला आफ्नै घरमा सेल्टर दिएर राख्ने गरेको नेकपा नेता भीम खवास बताउछन् ।

सेल्टर दिएबापत कयौँपटक हिरासत, भूमिगत र निर्वासन जीवन भोगेका सतालसिंहले बिरामी हुनअघिसम्म जीविकाका लागि धुलाबारी बजारमा पुरानो मोडलको पाइडल रिक्सा चलाउने गरेका थिए ।

घाँटीमा ट्युमर भएका उनलाई ६ महिना अघिमात्र क्यान्सर भएको थाहा भएको थियो । उपचार गर्न नपाउँदै उनको निधन भएको छ । सतालसिंहका छोरा विनोद, गणेश, शनि र दिलकुमार तथा छोरी जल, अन र लिल राजवंशी छन् । उनी माइली छोरीसँग बस्दै आएका थिए ।

निरन्तर पार्टीमा समर्पित सतालसिंह झापावासी तथा मेचीनगरका एक होनहार कम्युनिष्ट आन्दोलनका योद्धा रहेको प्रदेशसभा सदस्य गोपाल बुढाथोकीले बताए ।

प्रकाशित : , ०, ००३:४४

‘झ्यालबाट छिरेर मुख र हात समातेर करणी गरे’