काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को तर्फबाट राष्ट्रिय सभाका सदस्य रहेका महेशकुमार महराले जनयुद्धमा ज्यान गुमाउने सम्पूर्णलाई सहित घोषणा गर्न माग गरेका छन्।
बिहिबार राष्ट्रिय सभाको बैठकमा महराले माओवादीको नेतृत्वमा भएको १० वर्षे जनयुद्धका क्रममा ज्यान गुमाएका सबैलाई सहिद घोषणा गर्न माग गरेका हुन्। घाइतेहरुलाई समेत सरकारले विशेष राहत प्याकेज उनको माग छ।
“जनयुद्ध काम नलाग्ने भएको थिएन। जनयुद्धबारे अहिले भइरहेका नकारात्मक टिप्पणी एकदमै गलत छन्। यदि जनयुद्ध नभएको भए साथीहरु रसातलमा भासिइसकेका हुने थिए। पूर्वाग्राही भएर बोल्नुको औचित्य छैन। जनयुद्धका सबै मृतकलाई सहिद घोषणा गरियोस्।”,उनले भने।
जनयुद्धका घाइतेहरुलाई सरकारले बेवास्ता गरेको प्रति उनले ध्यानाकर्षण गराए। गणतन्त्र ल्याउन बलिदानी दिएकालाई सहिद घोषणा गर्न किन नहुने भनेर उनले प्रश्न समेत गरे।
“सरकारले जनयुद्धका घाइतेहरुको उपचारमा बेवास्ता गरेको छ। गणतन्त्र ल्याउन बलिदानी गरेकालाई सहिद घोषणा गर्न नहुने किन? सरकारले यसको जवाफ दिनुपर्छ।”,उनले भने।
यस्तै उनले सुदूरपश्चिमलाई हेलाको दृष्टिले हेरिएको प्रति पनि सरकारको ध्यानाकर्षण गराए। संघीयता आएपछि सुदूरपश्चिमलाई उपेक्षा गरिएको उनको आरोप छ। गणतन्त्र समेत आइसकेको अवस्थामा सिंहदरबारले सुदूरपश्चिमलाई सिंहदरबारले भुलेको उनले आरोप लगाए।
“हिजो पञ्चायतमा, निरंकुश शासनका बेला त सुदूरपश्चिमलाई सिंहदरबारले हेरेन, हेला गर्यो। अहिले संघीयता आएपछि पनि कर्णालीपारि पनि सुदूरपश्चिम छ भन्ने सिंहदरबारले सुनेन। यो कुरा सिंहदरबारले सुनोस्, बुझोस्।”,उनले भने।