काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले भारतसंगको खुला सिमाना सीमा व्यवस्थित गर्न प्रभावशाली कदम चालिनुपर्ने निष्कर्ष निकालेको छ।
मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा राष्ट्रिय परिषद् बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा भारतसितको खुला सिमाना नेपालको एउटा गम्भीर समस्या रहेको हुँदा खुला सिमाना सीमा व्यवस्थित गरिनुपर्ने उल्लेख छ।
भारतीय साम्राज्यवादले नागरिक आक्रमणद्वारा नेपाललाई फिजी बनाउन योजनाबद्ध प्रकारले षडयन्त्र गरिरहेको मसालको निष्कर्ष छ। यसमा नेपालको उदारवादी नागरिकता नीतिले पनि बढावा दिएको मोहनविक्रमको विश्लेषण छ ।
“भारतसितको खुला सिमाना नेपालको एउटा गम्भीर समस्या हो । खुला सिमानाका कारणले भारतीयहरू ठूलो सङ्ख्यामा नेपाल आउँछन् र नेपालको नागरिक बन्दछन् । त्यसकारण नेपाल र भारतको सीमा व्यवस्थित गर्न प्रभावशाली कदम चालिनुपर्दछ । नेपालको उदारवादी नागरिकता नीति पनि नेपालका लागि गम्भीर समस्या भएको छ । वास्तवमा भारतीय साम्राज्यवादले नागरिक आक्रमणद्वारा नेपाललाई फिजी बनाउन योजनाबद्ध प्रकारले षडयन्त्र गरिहेको छ ।”,प्रतिवेदनमा खुला सिमाना बारे भनिएको छ।
यस्तै अन्तर्राष्ट्रिय कानुनको समेत उलङ्घन गरेर नेपालका सीमावर्ती क्षेत्रहरूमा बाँधहरू निर्माण गर्दा नेपालमा सीमावर्ती क्षेत्रहरूमा बारम्बार डुवानको समस्या उत्पन्न हुने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।
भारतबाट ठूलो सङ्ख्यामा भारतीयहरू नेपालमा प्रवेश गर्ने गर्दा नेपाली बाहेक भारतीय पनि नेपालको जनगणनामा सामेल हुनसक्ने अत्याधिक सम्भावना रहेको रहेको पनि महामन्त्री मोहनविक्रमले राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन्।
“भारतले अन्तर्राष्ट्रिय कानुनको समेत उलङ्घन गरेर नेपालका सीमावर्ती क्षेत्रहरूमा जसरी बाँधहरूको निर्माण गर्ने गरेको छ, त्यसले नेपालमा सीमावर्ती क्षेत्रहरूमा बारम्बार डुवानको समस्या उत्पन्न हुने गरेको छ । हाम्रो देशमा छिट्टै जनगणना हुँदै छ । तर भारतबाट ठूलो सङ्ख्यामा भारतीयहरू नेपालमा प्रवेश गर्ने गर्दा नेपाली बाहेक भारतीय पनि नेपालको जनगणनामा सामेल हुनसक्ने अत्याधिक सम्भावना रहेको छ । उक्त प्रश्नमा उच्च प्रकारको शतर्कता अपनाउनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ । रोहिंग्या मुसलमानहरू पनि ठूलो सङ्ख्यामा नेपालमा अवैध प्रकारले आउन थालेका छन् । उनीहरूमाथि नियन्त्रण गर्न पनि सरकारको ध्यान जानुपर्ने आवश्यकता छ ।”,प्रतिवेदनमा भनिएको छ।