अनन्तको गोलमा नेपालको जित, फाइनलमा प्रवेश !

काठमाडौं – नेपाल राष्ट्रिय यू२३ फुटबल टोली १३ अौं दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार माल्दिभ्सलाई २-१ ले पराजित गर्दै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

खेलको ११ अौं मिनेटमा सुजल श्रेष्ठको प्रहार क्रसबारमा लागेर फर्कंदा नेपाल सुरुवाती अग्रता लिनबाट बन्चित भयो । सुजलले माल्दिभ्सका खेलाडीको मिसपासलाई अगाडि बढाउँदै पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारले गोलरक्षकलाई बिट गरेपनि बारमा लाग्दै फर्केको थियो ।

१८ अौं मिनेटमा माल्दिभ्सले अग्रता लियो । कर्नरमा आएको बललाई ६ यार्ड बक्सभित्र अनमार्क रहेका इब्राहिम हुसेनले वन टचमा सहजै गोल गरे ।

२७ अौं मिनेटमा हैसम हसानको कर्नरमा अनन्त तामाङको हेडरले गोलरक्षक बिट भएपनि हैसम हसानले गोललाइनबाट उक्त प्रहार क्लियर गरे । त्यसको एक मिनेटमा नै गोलरक्षक विकेश कुथुले वन भर्सेस वनमा उत्कृष्ट बचाउ गर्दै इब्राहिमलाई अग्रता दोब्बर पार्न दिएनन् । ३१ अौं मिनेटमा इब्राहिमले पेनाल्टी क्षेत्रको दायाँ भागबाट गरेको प्रहार पोस्टभन्दा थोरै बाहिर गयो ।

३५ अौं मिनेटमा हम्जा मोहमदले काउन्टर अट्याकमा गरेको आक्रमणलाई ६ यार्ड बक्स नजिकबाट फिनिस गर्न सकेनन् ।

४२ अौं मिनेटमा नेपाल खेल बराबरी गर्नबाट चुक्यो । अभिषेक रिजालको उत्कृष्ट ड्रिब्लिङपछिको पासलाई सुजलले पेनाल्टी क्षेत्रभित्र सुनिललाई दिएपछि उनको प्रहारलाई माल्दिभ्सका गोलरक्षक हुसेन सरीफले विफल पारे ।

त्यसको एक मिनेटमै नेपालले बराबरी गोल गर्यो । अभिषेक रिजालले पेनाल्टी क्षेत्रको ठिक बाहिर बललाई उत्कृष्ट नियन्त्रणमा लिँदै गरेको हाफ भली प्रहार गोलमा परिणत भएको थियो ।

दोस्रो हाफको ५२ अौं मिनेटमा नेपालले अग्रता लियो । सुनिल बलको कर्नरमा अनन्त तामाङको लो हेडरलाई माल्दिभ्सका गोलरक्षकले बचाउन सकेनन् । लगत्तै माल्दिभ्सका इब्राहिमले पेनाल्टी क्षेत्रको बाँया भागबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।

७० अौं मिनेटमा विक्रम लामाको लामो फ्रिकिमा अनन्तको हेडरले गोलरक्षकलाई समस्या दिन सकेन । लगत्तै हैसामले ६ यार्ड बक्स भित्रबाट गरेको प्रहार गोलरक्षक विकेशले बचाए ।

यस नतिजासँगै नेपाल ३ खेलमा ७ अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानमा छ । माल्दिभ्स ४ खेलमा २ अंक जोड्दै पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ । अब फाइनल पुग्न नेपालले अन्य नतिजाको प्रतिक्षा गर्नुपर्ने हुन्छ ।

प्रकाशित : , ०, ००९:५४

महिला फुटबलमा भारत विरुद्ध नेपाल : ‘लिपुलेक हाम्रै हो, कालापानी हाम्रै हो’ भन्दै नारा !