काठमाडौं : एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले अफगानिस्तानलाई हराउँदै सान्त्वना जित हात पारेको छ।
पहिले नै समूह चरणबाट बाहिरिएको नेपालले मङ्गलबार अफगानिस्तानलाई एक विकेटले पराजित गर्यो। संयुक्त अरब इमिरेट्स (युएई) को शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले १२४ रनको लक्ष्य ४१.३ ओभरमा नौ विकेट गुमाउँदै पूरा गर्यो।
नेपालका लागि नरेन साउदले उत्कृष्ट प्रदर्शन गर्दै २६ रन बनाए। कप्तान हेमन्त धामीले २२ रनको योगदान दिए भने अर्जुन कुमालले २१ रन बनाए। अभिषेक तिवारीले पनि १३ रनको साथ दिए।
बलिङतर्फ अफगानिस्तानका खान स्तानिकजाई र अल्लाह गजन्फरले तीन-तीन विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ३५.४ ओभरमा १२३ रनमै समेटिएको थियो। अफगानिस्तानका लागि फैसल सिनोजादाले अर्धशतक प्रहार गर्दै ५२ रन बनाए। खातिर स्तानिकजाईले १५ रन जोडे।
नेपालको बलिङतर्फ सन्तोष यादव र यूनिस ठकुरीले समान तीन-तीन विकेट लिए। हेमन्त धामी र अभिषेक तिवारीले दुई-दुई विकेट झारे।
समूह ‘बी’ मा रहेको नेपाल यसअघि बंगलादेशसँग पाँच विकेटले र श्रीलङ्कासँग ५५ रनले पराजित भएको थियो।