बिराटनगर किङ्ग्सको लगातार दोश्रो हार, गप्टिल गोल्डेन डकआउट

काठमाडौँ : – टप अर्डर कुनै पनि ब्याट्समेन चल्न नसक्दा बिराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा लगातार दोस्रो हार ब्होरेको छ। यसअघि उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई पनि आठ विकेटले हराएको थियो ।

मङ्गलबार भएको खेलमा बिराटनगर किङ्ग्स सुदुरपश्चिम रोयल्ससँग ९० रनले पराजित भएको हो।

कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकीय पारीमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई एक सय ८३ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो।

जितका लागि एक सय ८३ रनको लक्ष्य पछ्याएको विराटनगर १६ . १ औँ ओभरमा १० वटै विकेट गुमाएर ९२ रनमा समेटिन पुग्यो। बिराटनगर किङ्ग्सको लागि बसिर अहमदले सर्वाधिक २४ रन  बनाए। राजेश पुलामीले १५ बलमा १५ रन बनाए र अनिल खरेलले १० रन जोडे। यी तीन बाहेक कुनै पनि ब्याट्समेनले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

स्टार ब्याट्समेन मार्टिन गप्टिल गोल्डेन डकआउट भए भने लोकेश बमले २ रन जोडे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८२ रन बनाएको थियो।

यो स्कोर जारी लिगको अहिलेसम्मकै उच्च स्कोर हो। यसअघि, सोमबार कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध १४१ रनको स्कोर खडा गरेको थियो।

सुदूरपश्चिमका लागि दीपेन्द्रले २४ बलमा पाँच छक्का र तीन चौकाको मद्दतले अविजित ५७ रन बनाए। ब्रान्डन म्याकमुलेनले ३६ रन, विनोद भण्डारीले २३ रन, इशान पाण्डेले २१ रन, र सेफ जैफले १४ रनको योगदान दिए।

बलिङतर्फ विराटनगरका लागि अनिल खरेलले तीन विकेट लिए। त्यस्तै, क्रिस सोल, इस्मत अलाम, र बसिर अहमदले एक/एक विकेट लिए।

प्रकाशित : , ०, ०१२:२६

अफगानिस्तानलाई सस्तैमा समेट्यो नेपालले, चम्किए युनिष र सन्तोष