पासको लागि फोन-मेसेज गरेर हैरान पारेपछि पारस खड्काले लेखे यस्तो स्ट्याटस…

काठमाडौँ : –  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अहिले क्रिकेटप्रेमीहरूको मुख्य आकर्षण बनेको छ। देशभित्र मात्र होइन, विदेशमा रहेका नेपाली क्रिकेट समर्थकहरू पनि यो विशेष प्रतियोगिताको प्रतीक्षामा छन्।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले पहिलो पटक आयोजना गरेको यो प्रतियोगिता चर्चित अन्तर्राष्ट्रिय खेलाडीहरूको उपस्थिति र सशक्त टिम संरचनाका कारण थप चर्चा बटुलिरहेको छ। नेपाली क्रिकेटमा भइरहेको लगानी र चासोले पनि यसप्रति जनताको आकर्षण बढाएको छ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आउँदो शनिबार एनपिएलको भव्य उद्घाटन हुनेछ। उद्घाटन खेल विराटनगर किङ्स र जनकपुर बोल्टबीच खेलिने तय भएको छ। प्रतियोगिता पुस ६ गतेसम्म चल्नेछ भने तयारीका कामहरू अन्तिम चरणमा पुगेको छ।

क्यानले भविष्यमा नेपाली क्रिकेटको विकासका लागि थप महत्त्वपूर्ण कदम चाल्ने योजना बनाएको छ। विदेशी खेलाडीहरू र विदेशी  म्याच कमेन्टेटरहरूको उपस्थितिले यस प्रतियोगितालाई थप विशेष बनाउनेछ। साथै, टिमहरूको अभ्यासलगायतका तयारी कार्यहरू पनि अन्तिम चरणमा पुगेको छ।

यो महाकूम्भले नेपाली क्रिकेटमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ। शनिबार मङ्सिर १५ गतेको एनपिएलको उद्घाटन खेलको सबै टिकेटहरु सोल्ड आउट भईसकेका छन्।

क्यानका सचिव पारस खड्काले शनिबारको खेलको पासका लागि फोन वा मेसेज नगर्नुहुन हार्दिक अनुरोध गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् – “क्रिकेट संघ नेपाल (CAN) ले आयोजना गरिरहेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग अन्तर्गतको पहिलो म्याचका टिकट र भिआईपी पासहरू सबै सीमित पूर्वाधारका कारण सकिएको हुँदा कृपया सबैलाई समन्वय गर्न अनुरोध गर्दछौं। भोलिको खेलको लागि टिकट नभएका महानुभावहरूले कृपया टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट नै खेल हेर्नुहुन हार्दिक अनुरोध गर्दछौं। कृपया भोलिको पासका लागि फोन वा सन्देश नगर्नुहुन हार्दिक अनुरोध गर्दछौं। बाँकी खेलहरूको लागि पनि अवसर हुनेछ। यहाँहरूको समर्थन निरन्तर रहोस्, र भविष्यमा पर्याप्त पूर्वाधारको साथ सबैलाई समेट्न सक्ने नेपाल क्रिकेट संघ बन्ने हाम्रो प्रयास जारी रहनेछ।”

प्रकाशित : , ०, ०१४:५३

८ टिम-८ कप्तान, ३२ खेल, १ सपना : ट्रफी उचाल्ने