काठमाडौँ : – सिद्धार्थ बैंक (एसबिएल) नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ ले नेपाली क्रिकेट इतिहासमा पहिलो पटक एलईडी बेल्सको प्रयोग गर्दै नयाँ प्रविधि भित्र्याउने तयारी गरेको छ। एलईडी बेल्स अन्तर्राष्ट्रिय क्रिकेटमा प्रचलित भइसकेको भए पनि, एनपीएलमा यसको सुरुवातले नेपाली घरेलु क्रिकेटलाई आधुनिक बनाउने दिशामा नयाँ आयाम थप्नेछ।
नेपाल क्रिकेट संघ (क्यान) ले अष्ट्रेलियाबाट २० सेट एलईडी बेल्स खरिद गरेको छ, जसले सम्पूर्ण प्रतियोगिताभरि यसको उपलब्धता सुनिश्चित गर्नेछ। यद्यपि, एलईडी स्टम्प्स भने प्रयोग नगरिने र केवल एलईडी बेल्सलाई मात्र खेलमा प्रयोग गरिने बताइएको छ।
एलईडी बेल्सले आउट हुने क्रममा झरेपछि तुरुन्तै चम्किने उज्यालोले रनआउट र स्टम्पिङका क्रममा अम्पायरलाई सही निर्णय मद्दत गर्दछ। यसका साथै बेल्सको चम्किलो प्रभावले आउटका क्षणलाई अझ रोचक बनाउँछ, जसले मैदानमा रहेका र टिभी स्क्रीनमा हेर्ने दर्शकमा थप रोमाञ्चकता पैदा गर्दछ। ।
एनपीएलको यो पहलले नेपाली क्रिकेटलाई नयाँ स्तरमा पुर्याउने अपेक्षा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १५ देखि पुस ६ गतेसम्म त्रिभुवन विश्वविद्यालय (टियू) क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुँदैछ। उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा सहभागी ८ वटै फ्रेन्चाइज टोलीका विदेशी खेलाडीहरू र प्रशिक्षकहरूको आगमन जारी छ।