एनपीएल सुरु हुनु ३ दिन अघि नै सबै टिकेट सोल्ड आउट, क्यानले कमायो ३३ लाखभन्दा बढी

काठमाडौं : सिद्धार्थ बैंक (एसबिएल) नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलको टिकटहरू तीन दिनअघि नै सोल्ड आउट भएका छन्।

मंसिर १५ गते हुने विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीचको प्रतिस्पर्धाका लागि टिकटको माग उच्च रहेको नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले जनाएका छन्।

उनका अनुसार, त्रिभुवन विश्वविद्यालय (टियू) क्रिकेट मैदानको कुल दर्शक क्षमता १२ हजार जति रहेको छ, जसमा १२०० भिआईपी टिकटमध्ये ८०० टिकट बिक्री भइसकेका छन्। सामान्य टिकट पनि लगभग सबैजसो बिक्री भइसकेको छ।

यसपटक क्यानले मुख्य प्रायोजकका लागि सिद्धार्थ बैंक जोन छुट्याएको छ। साथै, दर्शकहरूको सुविधा सुनिश्चित गर्न फ्यान जोन छुट्याउँदै टिकट वितरण गरिएको थियो।

टिकट बिक्री मंसिर १० गते बेलुका ८ बजेबाट सुरु गरिएको थियो, जसले तीन दिनभित्र नै “सोल्ड आउट” को स्थिति पुर्‍यायो।

पहिलो दिनका लागि साधारण टिकटको मूल्य ३ सय रुपैयाँ र भिआईपी टिकटको मूल्य ७ सय रुपैयाँ तोकिएको थियो। टिकट बिक्रीमार्फत पहिलो दिनमै क्यानले ३३ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको छ।

एनपीएलको यो संस्करण मंसिर १५ देखि सुरु हुँदैछ, जहाँ ८ टिमले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित : , ०, ०१८:१९

एनपिएलबाट अर्को खुशीको खबर, पहिलो पटक एलईडी बेल्सको प्रयोग हुने