एनपिएल जितेमा डिएनएले जनकपुरका खेलाडीलाई १ लाख र फाइनल पुगेमा ५० हजार रुपैयाँ दिने

काठमाडौं: नेपाली प्रिमियर लिग (एनपिएल) को फ्रेञ्चाइज टोली जनकपुर बोल्ट्सलाई डिएनए इन्टरनेसनलले मुख्य प्रायोजन गरेको छ।

ड्रिम स्पोर्ट्सको स्वामित्वमा रहेको जनकपुर बोल्ट्स र डिएनएबीच मंगलवार सहमति पत्रमा हस्ताक्षर भएको छ।

सम्झौतामा बोल्ट्सका प्रबन्ध निर्देशक निरज खतिवडा र डिएनएका प्रबन्ध निर्देशक अनुप घिमिरेले हस्ताक्षर गरेका हुन्। नेपालमा कपडा निर्माणमा क्रियाशील कम्पनी डिएनए इन्टरनेसनलको आधिकारिक विक्रेता रन्जना ट्रेड सेन्टर हो।

जनकपुर बोल्ट्समा मार्की खेलाडीको रूपमा आसिफ शेख रहेका छन् भने न्युजिल्यान्डका चर्चित क्रिकेटर जिमी निसमलाई पनि टोलीमा अनुबन्ध गरिसकेको छ। विदेशी खेलाडीहरूको सूचीमा लाहिरु मिलान्था लगायतका नाम पनि समेटिएका छन्।

टोलीको प्रशिक्षण जिम्मेवारी नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायकेले लिएका छन्, जहाँ उनी मुख्य प्रशिक्षकको भूमिकामा छन्। उनलाई मनोज कटुवालले सहायक प्रशिक्षकको रूपमा साथ दिएका छन्। हालै आयोजित कार्यक्रममा प्रशिक्षक पुबुदु, आसिफ शेख लगायतका खेलाडीहरूले जनकपुर बोल्ट्सको एनपिएल जर्सी सार्वजनिक गरेका थिए।

डिएनए इन्टरनेसनलले उक्त कार्यक्रममा जनकपुर बोल्ट्सले एनपिएल उपाधि जितेमा प्रत्येक खेलाडीलाई १ लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। साथै, टोली फाइनलमा प्रवेश गरेमा खेलाडीहरूलाई ५० हजार रुपैयाँ थप पुरस्कार दिइनेछ।

प्रकाशित : , ०, ०२१:५४