काठमाडौँ : आइसिसी महिला यु–१९ टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स(युएई) लाई ८ विकेटले पराजित गरेको छ। यो जितसँगै नेपाली महिला टोलीले आईसिसी यु १९ महिला विश्व कपमा स्थान बनाउन सफल भएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ८३ रन बनाएको थियो।
युएईका लागि समैरा धरनीधर्काले सर्वाधिक ३१ रन बनाईन्। यस्तै रिनिथा रञ्जिथाले १८ बलमा २० तथा इन्दुजा नन्दकुमारी र लाभन्या केन्याले १०/१० रन बनाए।
बलिङमा नेपालकी कृष्णा गुरुङले ४ विकेट लिईन्। उनले आफ्नो ४ ओभरमा १७ रन खर्चिएर उक्त विकेट लिएकी हुन्। रिया शर्मा र सिमा केसीले २ – २ र रचनाकुमारी चौधरीले १ विकेट लिए।
युएईले दिएको ८४ रनको विजयी लक्ष्य नेपालले १४ . ४ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो। नेपालको जितमा सना प्रवीनले अविजित रहँदै सर्वाधिक ३५ रन बनाईन्। कप्तान पुजा महतोले २१ रन, सोनी पाख्रिनले १३ रन र सावित्री धामीले १२ रन बनाईन्।