काठमाडौँ : अमेरिकामा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा स्कटल्याण्डलाई ५ विकेटले पराजित गरेको छ।
जितको लागि १५५ रनको लक्ष्य पच्छ्याएको नेपालले २९ . ५ ओभरमा ५ विकेट गुमाउँदै १५७ रन बनाएर लक्ष्य भेट्टायो। नेपालको लागि आरिफ शेखले अविजित रहँदै सर्वाधिक ५१ रनको योगदान दिए। उनले ८ चौकाको सहायतामा ४२ बलमा ५१ रन जोडे। गुलशन झाले अविजित रहँदै २५ रनको जोडे। उनले ३ चौका र १ छक्का प्रहार गरे। यससँगै कुशल भुर्तेलले २५ रन र आशिफ शेखले २१ रन जोडे। कुशल मल्ल ७ रन र कप्तान रोहित पौडेल १ रन बनाएर सस्तैमा आउट भए।
अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस जितेर बलिङ रोजेको नेपालले स्कटल्याण्डलाई ४१ . ४ ओभरमा १५४ रनमा समेटेको थियो। बलिङमा सन्दीप लामिछानेले आफ्नो १० ओभरमा ४५ रन खर्चिंदै ३ विकेट लिए। यससँगै करण केसी, सोमपाल कामी र गुलशन झाले समान २ – २ विकेट झारे। आरिफ शेखले १ विकेट आफ्नो पोल्टामा पारे। दिपेन्द्र सिंह ऐरी भने विकेट विहिन भए।
स्कटल्याण्डको लागि मार्क वाटले सर्वाधिक ३४ रनको योगदान दिए।
ओडिआईमा नेपालको यो २५७ दिनपछिको जित हो। यसअघि नेपालले फेब्रुअरी १७ तारिखमा विश्वकप क्रिकेट लिग-२ को नेपालमा भएको पहिलो सिरिजमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो। त्यसपछि भएका ७ एकदिवसीय खेलमा नेपालले लगातार हार बेहोरेको थियो। जसमा ओमनविरुद्दको एक खेल नतिजाविहिन भएको थियो।