क्यानडा टुरमा घरेलु टिमसँग फेरी हार्यो नेपाल, ४ खेलमा जित्न सकेन एउटा खेल पनि

काठमाडौँ : क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत बुधबार भएको खेलमा नेपाल क्यानाडासँग पराजित भएको छ ।

क्यानडाको किङ सिटीमा सम्पन्न खेलमा क्यानाडाले नेपाललाई ४ विकेटले पराजित गरेको हो। जितका लागि १४० रनको लक्ष्य पाएको क्यानाडाले १९. ३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । क्यानाडाका लागि साद बिन जाफरले सर्वाधिक ३३ रनको योगदान दिए । त्यसैगरी निकोलस किर्टनले २६ रन बनाए भने दिलप्रीत बाजवाले २६ रननै जोडे ।

नेपाललाई एक सय ३९ रनमा समेट्ने क्रममा क्यानाडाका हर्ष ठाकरले २ विकेट लिए । अखिल कुमार, साद बिन जाफर, परवीन कुमार र डिलियन हेलिगरले समान १–१ विकेट झारे ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रनको योगफल बनाएको थियो ।

नेपालका लागि अनिल शाहले सर्वाधिक ४१ रनको योगदान दिए । उनले ३० बलमा ४ चौका र ३ छक्काको मद्दतमा ४१ रन बनाएका हुन् । त्यसैगरी आशिफ शेखले ३० रनको योगदान दिए । उनले ३० बलमा ३ चौका र १ छक्काको मद्दतमा ३० रन बनाए । गुलशन कुमार झाले २३ रनको अविजित पारी खेले भने कुशल भुर्तेलले १३ रन जोडे। नेपालले कप्तान रोहित पौडेल र कुशल मल्ललाई समान ४ रन गुमायो।

नेपालको बलिङतर्फ सन्दीप लामिछाने र ललित राजवंशीको प्रदर्शन दमदार रह्यो। सन्दीप लामिछानेले ४ ओभरमा २३ रन खर्चिएर २ विकेट झारे भने ललित राजवंशीले ४ ओभरमा २० रन खर्च गर्दै २ विकेट लिए। सोमपाल कामीले ४ ओभरमा ३१ रन दिँदै १ विकेट आफ्नो पोल्टामा पारे। नेपालको लागि करण केसी सबैभन्दा महँगो बलर साबित भए। उनले ४ ओभरमा ३८ रन खर्चिए। उनले कुनै विकेट लिन सकेनन्।

नेपाल यस सिरिजको पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको छ ।

नेपालले सिरिजको दोस्रो खेलमा ओमानलाई ३७ रनले हराएको थियो ।

क्यानडा आफ्नो दोस्रो खेलमा ओमानसँग आठ विकेटले पराजित भएको थियो ।

आइसिसी विश्वकप लिग–२ सिरिजका लागि क्यानडा गएको नेपालले सिरिज सकिएसँगै टी–२० सिरिज खेलेको हो ।

यसअघि क्यानडा र ओमान सम्मिलित आइसिसी लिग–२ मा तीन खेल गुमाएको नेपालले ओमानसँगको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि एक अङ्क पाएको थियो ।

लिग–२ सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग एक सय तीन रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भएको थियो । नेपाल तेस्रो खेलमा क्यानडासँग पाँच विकेटले पराजित भएको थियो ।

क्यानडा टुरमा नेपालले क्यानडा विरुद्द आइसिसी लिग–२ मा दुई ओडिआई र त्रिकोणात्मक शृंखलामा २ टि२० खेल खेलेको छ। ४ खेल खेलेको नेपालले क्यानडाविरुद्द कुनैमा पनि जित दर्ता गर्न सकेन।

प्रकाशित : , ०, ००१:३७