क्यानडालाई १४० रनको लक्ष्य, के नेपालले लक्ष्य डिफेन्ड गर्न सक्ला त ?

काठमाडौँ : क्यानडामा जारी नेपाल, क्यानडा र ओमन सम्मिलित त्रिकोणात्मक टी२० आई सिरिजको चौथो तथा नेपालको तेश्रो खेलमा नेपालले क्यानडालाई १४० रनको लक्ष्य प्रस्तुत गरेको छ।

क्यानडाको किङ्ग सिटीस्थित मेपल लिफ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ६ विकेटको क्षतिमा १३९ रन बनाएको हो।

ओपनर अनिल शाह र आशिफ शेखले विस्फोटक सुरुवात गर्दै अर्धशतकीय साझेदारी गरे। अनिल शाहले ३ छक्का र ४ चौका प्रहार गर्दै ४१ रनको शानदार सुरुवात दिए। यससँगै आशिफ शेखले ३० बलमा १ छक्का र ३ चौकाको सहायतामा ३० रनको योगदान दिए।

दिपेन्द्र सिंह ऐरी १२ रन बनाउँदै पेभेलियन फर्किए। गुलशन कुमार झाले २ छक्का प्रहार गर्दै अविजित रहेर २३ रन बनाए र करण केसीले २ बलमा ८ रन बनाउँदै अविजित रहे।

एकसमय नेपाल ९ ओभरमा कुनै विकेट नगुमाई ७० रनको बलियो स्थितिमा थियो। त्यसपछि निरन्तर विकेटको पतनसँगै नेपालले १४ ओभरमा ४ विकेट गुमाएर ८३ रन मात्र बनाउन सक्यो।

नेपालले लगातार ३ ब्याट्समेनलाई सस्तैमा गुमाउन पुग्यो। कप्तान रोहित पौडेल ४ रन, कुशल मल्ल १२ बलमा ४ रन र कुशल भुर्तेल १३ रन बनाएर आउट भए।

बलिङमा क्यानडाको लागि हर्ष ठाकरले ४ ओभरमा १७ रन खर्चिंदै २ विकेट लिए। परवीन कुमार, अखिल कुमार, डिलियन हेलिगर र साद बिन जाफरले समान १ – १ विकेट आफ्नो पोल्टामा पारे।

नेपाल यस सिरिजको पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको छ ।

नेपालले सिरिजको दोस्रो खेलमा ओमानलाई ३७ रनले हराएको थियो । नेपाललाई आज क्यानडासँग पहिलो खेलमा हारेको बदलासमेत लिने अवसर छ । क्यानडा पनि दोस्रो जितको लक्ष्यमा छ ।

क्यानडा आफ्नो दोस्रो खेलमा ओमानसँग आठ विकेटले पराजित भएको थियो । आइसिसी विश्वकप लिग–२ सिरिजका लागि क्यानडा गएको नेपालले सिरिज सकिएसँगै टी–२० सिरिज खेलेको हो ।

यसअघि क्यानडा र ओमान सम्मिलित आइसिसी लिग–२ मा तीन खेल गुमाएको नेपालले ओमानसँगको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि एक अङ्क पाएको थियो ।

लिग–२ सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग एक सय तीन रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भएको थियो । नेपाल तेस्रो खेलमा क्यानडासँग पाँच विकेटले पराजित भएको थियो ।

प्रकाशित : , ०, ०२३:२१

क्यानडा टुरमा घरेलु टिमसँग फेरी हार्यो नेपाल, ४ खेलमा जित्न सकेन एउटा खेल पनि