क्रिकेटका हस्ती क्रिस गेल र शाहिद अफ्रिदीलाई समेत पछि पार्दै गुलसनले बनाए वर्ल्ड रेकर्ड

काठमाडौँ : नेपालले आइसिसी विश्वकप लिग–२ सिरिजमा लगातार दोस्रो हार खेपेको छ । क्यानडाको किङ्ग सिटीमा बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल ओमानसँग १ विकेटले पराजित भएको हो ।

यस सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग एक सय तीन रनले पराजित भएको थियो । लगातार हारले नेपाललाई लिग–२ मा टिक्न चुनौती थपिएको छ ।

रोचक खेलमा गुलशन झाले पाँच विकेटसँगै अर्धसतक बनाए पनि नेपालको हार टरेन । यस खेलमा अलराउण्डर गुल्शन झाले क्रिकेटका दुई महान हस्ती क्रिस गेल र शाहिद अफ्रिदीलाई समेत पछि पारेर वर्ल्ड रेकर्ड बनाएका छन्।

झाले ओमनविरुद्दको खेलमा ५ विकेट लिनुका साथै ५० रनमाथि बनाउँदै ओडिआईमा कम उमेरमै यस्तो कीर्तिमानी बनाउने खेलाडी बनेका हुन्। उनले १८ वर्ष २१४ दिनमा यस सफलता हासिल गरेका हुन्।

यसअघि पाकिस्तानका अब्दुल रजाकले सन् २००० मा २० वर्ष ५० दिनमा भारतविरुद्ध यस्तो कीर्तिमान बनाएका थिए।

पाकिस्तानकै शाहिद अफ्रिदीले सन् २००० मा २० वर्ष २४० दिनको उमेरमा यस्तो सफलता हात पार्दै कीर्तिमानी बनाएका थिए।

यससँगै वेस्टइण्डिजका क्रिस गेलले २००३ मा २३ वर्ष २५३ दिनमा अष्ट्रेलियाविरुद्ध ५० रन माथि बनाउँदै ५ विकेट आफ्नो पोल्टामा पारेका थिए।

बुधबार रातिको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुईसय २० रन बनाएको थियो । दुई सय २१ रनको विजयी लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा नौ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ६० र गुलशन झाले ५३ रनको अर्धसतकीय पारी खेले। रोहितको यो १०औँ अर्धसतक हो । यस्तै आरिफ शेखले ३५, सोमपाल कामीले २० तथा आशिफ शेख, भिम सार्की र सन्दीप लामिछानेले समान ११ रन बनाए।

बलिङमा ओमानका फैयज बट, अकिब इल्यास र कलिमुल्लाहले २ – २ विकेट लिए। सोयब खान र सकिल अहमदले १ – १ विकेट झारे। ओमानको जितमा ओपनर जितेन्दर सिंहले सर्वाधिक ४१ रन बनाए। अर्का ओपनर कश्यप प्रजापतिले ३६, अकिब इल्यासले २९, प्रतिक अथाभाले र सोयब खानले २६/२६ तथा खलिद कैल र सकिल अहमेदले १७/१७ रन बनाए।

बलिङमा नेपालका गुलशन झाले सर्वाधिक पाँच विकेट लिए। उनले १० ओभरमा दुई मेडन राख्दै ४७ रन खर्चिएका थिए। करण केसीले दुई तथा सन्दीप लामिछाने र आरिफ शेखले एक एक विकेट झारे। गुलशन प्लेयर अफ दि म्याच भए।

यस जितसँगै पाँच खेलमा पाँच नै अङ्क बनाएको ओमान छैटौँ स्थानमा छ । ६ खेलबाट दुई अङ्क बनाएको नेपाल सातौँ स्थानमा छ । शीर्षस्थानमा रहेको नेदरल्यान्ड्सको आठ खेलबाट १२ अङ्क छ । दोस्रो स्थानमा रहेको क्यानडाले नौ खेलबाट १० अङ्क, तेस्रो स्थानमा रहेको स्कटल्यान्डको सात खेलबाट नौ अङ्क, चौथो स्थानमा रहेको अमेरिकाको ६ खेलबाट आठ अङ्क र पाँचौँ स्थानमा रहेको नामिबियाको नौ खेलबाट आठ अङ्क छ ।

चार खेल सकेको संयुक्त अरव इमिरेट्स (युएई) अङ्कबिहीन बन्दै अन्तिममा छ । क्यानडापछि नेपालले अमेरिकामा विश्वकप लिग–२ कै अर्को सिरिज खेल्नेछ । यस सिरिजमा आयोजक, नेपाल र स्कटल्यान्ड छ ।

प्रकाशित : , ०, ०१६:०३