भद्रपुर – प्रदेश नं ३ का लागि प्रदेश प्रमुखमा नियुक्त भएका विष्णु प्रसाईँ कम्युनिष्ट आन्दोलनका पुराना नेता हुन् । उनी विसं २०२७ यता भएका बिभिन्न आन्दोलनका क्रममा चार पटक जेल पर्नुका साथै लामो समय निर्वासित भएका थिए।
झापाको मेचीनगर–११ निवासी विसं २०१० साउन २१ गते तेह्रथुमको आठराइमा जन्मिएका उनी १७ वर्षको कलिलै उमेरमा कम्युनिष्ट राजनीतिमा लागेका थिए । झापा आन्दोलनमा सक्रिय उनी विद्यार्थीकालमा विसं २०२७ मा अनारमनीमा भएको अनेरास्ववियुको कार्यक्रममा पहिलोपटक पक्राउ परी एक महिना राजबन्दी भएका थिए ।
पञ्चायती शासनको विरोध गर्दै विसं २०३७ मा झापामा भएको पाटा आन्दोलनमा आठ महिना र विसं २०४५ मा २२ महिना जेल परेका उनी झापाकै पुराना जुझारु कम्युनिस्ट नेता मानिन्छन् । विसं २०२७ मै तत्कालीन भूमिगत नेकपा मालेको सम्पर्कमा रहेका उनी प्रधानमन्त्री केपी शर्मा ओली, सिपी मैनालीलगायतसँगका समकालीन नेता हुन् । तेह्रथुम र झापामा नेकपा मालेको सङ्गठन विस्तार र राजनीतिक आन्दोलनमा उनको प्रत्यक्ष सहभागिता रहने गरेको थियो ।
लता प्रसाईसँग विवाह गरेको भोलिपल्टै उनलाई प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि उनी लामो अवधिसम्म भारतमा निर्वासित हुनुपरेको थियो । निर्वासनमा रहँदासमेत उनले पञ्चायती शासनका विरुद्ध सङ्घर्ष गरेका थिए । विसं २०३६ देखि २०४५ सम्म पूर्वी नेपालमा हुने पञ्चायतविरोधी जुनसुकै घटना हुँदा पनि झापामा प्रहरीले उनलाई नै पक्राउको वारेन्ट जारी गथ्र्यो ।
विसं २०४६ को आन्दोलनमा पञ्चायती सरकारले उनलाई पक्राउ गरेर जेलमा बन्दी बनाएको थियो । विसं २०६२÷६३ को आन्दोलनमा उनी झापामा आन्दोलनका नायक नै मानिन्थे । विसं २०६३ वैशाख ६ गते चन्द्रगढीमा भएको विशाल जनविद्रोहका बेला उनी प्रहरी दमनमा परेर गम्भीर घाइते भएका थिए ।
उनी तत्कालीन नेकपा मालेको नीतिअनुरुप नै विसं २०४३ मा धाइजन गाउँ पञ्चायतको जनपक्षीय प्रधानपञ्च निर्वाचित भएका थिए । उनले आफ्नो कार्यकाल पञ्चायतविरोधी गतिविधिमा केन्द्रित गरे र पार्टीको सङ्गठन विस्तारमा लागिरहे । उनलाई पञ्चायती शासकले अपराजय बाघ नै सम्झन्थे । त्यसबेला झापामा जुझारु छविका कारण उनलाई ‘झापाली टाइगर’ भनिन्थ्यो ।
विसं २०५४ मा उनी जिल्ला विकास समितिको उपसभापतिमा नेकपा (एमाले) का तर्फबाट निर्वाचित भए । विसं २०५६ मा झापा क्षेत्र नं ३ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनेका थिए । साथै उनी तत्कालीन एमाले सरकारका पालामा नेपाल चिया विकास निगमको महाप्रबन्धक नियुक्ति भएका थिए ।
झापाको धाइजनस्थित सम्पन्न परिवारमा हुर्किए तापनि उनी किसान, मोही हकवाला र मजदुर वर्गको असल मित्र थिए । उनले आफ्नै बुबाले मोहीमाथि थिचोमिचो गर्दा भूमिसुधार कार्यालय गएर खेत जोत्ने किसानलाई मोहीयानी हक दिलाउन सहयोग गरेका थिए । उनी विसं २०७४ मा नेकपा एमालेबाट मेचीनगर नगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका थिए ।