काठमाडौं – मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध आज हुन लागेको ५० ओभरको खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली पूर्व कप्तान पारस खड्का र स्पिनर सन्दीप लामिछाने बिना नै उत्रने भएको छ ।
खेलको टसका क्रममा एमसीसीका कप्तान जिमी एडम्सले टस जितेर ब्याटिङ रोजेका छन् । कप्तान ज्ञानेन्द्र मल्लले बुझाएको १४ खेलाडीको सुचिमा दुवै पारस र सन्दीप रहेका छैनन् । नेपालको सुरुवाती ११ मा मुख्य स्पिनरका रुपमा ललितनारायण राजवंशीको मात्र नाम रहेको छ । उनलाई पवन सर्राफ र शरद भेषावकरले स्पिनमा साथ दिनेछन् । वसन्त रेग्मी चोटका कारण अनुपस्थित रहेका छन् ।
तीव्र गतिका बलरका रुपमा विक्रम सोब, करण केसी र अभिनाश बोहोरा छन् । सोमपाल कामीलाई पनि विश्राम दिइएको छ । सोमपालसँगै रोहित पौडेल र सन्दीप जोराको नाम भने १४ खेलाडी सुचिमा छ ।
नेपालको प्लेइङ ११ :
ज्ञानेन्द्र मल्ल (कप्तान), इशान पाण्डे, शरद भेषावकर, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, पवन सर्राफ, करण केसी, ललित नारायण राजवंशी, विक्रम सोब, अभिनाश बोहोरा
एमसीसी :
जिमी एडम्स (कप्तान), विल रोड्स, क्यलम ज्याक्सन, बिलि गोडलम्यान, टम वेस्टली, विल भानडरसपार, माइल्स ह्यामन्ड, एलेक्स थम्प्सन, यासिर अरफत, क्रिस राइट, ओलिभर ह्यानन-डाल्बी