मोरिन्होलाई चाहियो फर्मिनोको साथ, रोमामा भित्र्याउने योजना !

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलका ब्राजिलियन स्तर फरवार्ड रोबर्टो फर्मिनोले लिभरपुल छाड्ने पक्का भैसकेको छ। उनले यस सिजनको अन्त्यमा लिभरपुल छाड्ने निर्णय गरिसकेका छन् र सो निर्णय सार्वजनिक पनि भइसकेको छ।

लिभरपुल र फर्मिनो बीचको सम्झौता यहि सिजनको अन्त्यमा सकिँदैछ। दुवै पक्षले सम्झौता थप गर्न चाहेका छैनन्। जसकारण यस सिजनको अन्त्यमा फर्मिनो फ्री ट्रान्सफरका लागि उपलब्ध हुनेछन्।

फ्री ट्रान्सफरमा उपलब्ध हुने हुँदा उनी माथि धेरै क्लबको नजर रहेको छ। उनलाई युभेन्टस, बार्सिलोना र एट्लेटिको म्याड्रिड जस्ता क्लबले भित्र्याउन चाहेका छन्।

तर अब सो दौडमा अर्को इटालियन क्लब पनि सामेल हुने भएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार फर्मिनो भित्र्याउने दौडमा इटालियन क्लब रोमा पनि सामेल हुने भएको हो।

एएस रोमाका प्रबन्धक जोसे मोरिन्हो फर्मिनोको प्रशंसक रहेको र उनीसँग काम गर्न चाहेको बताइएको छ। स्पेनिस आउटलेट फिचाजेसका अनुसार मोरिन्होले फर्मिनो भित्र्याउन क्लबलाई आग्रह गरिसकेका छन्।

एनफिल्डमा कम भूमिका सुम्पिए पनि फर्मिनो यस सिजन उच्च प्रदर्शन गरिरहेका छन्। उनले यस सिजन लिभरपुलका लागि कुल ३२ खेल खेलेका छन्। यस बीचमा उनले ११ गोल गरिसकेका छन् भने ५ असिस्ट दिसकेका छन्।

आठ वर्षे लामो लिभरपुल करियरमा फर्मिनोले निरन्तर उच्च प्रदर्शन गरे। उनले लिभरपुलमा रहेर सम्पूर्ण उपाधि जितेका छन्। उनले प्रिमियर लिग, यूईएफए च्याम्पियन्स लिग, एफए कप र लिग कप जस्ता उपाधि जितिसकेका छन्।

प्रकाशित : , ०, ००७:५०

महत्वपूर्ण समयमा युनाइटेडलाई झड्का, मार्टिनेज सिजनभरका लागि आउट !