एजेन्सी – बोरुसिया डर्टमण्ड मिडफिल्डर जुडे बेलिङ्घम यति बेला निरन्तर चर्चामा छन्। युरोपका सबै ठूला क्लब उनको पछि परिरहेका छन्। आउने समर ट्रान्सफर विन्डोमा डर्टमण्डले बेलिङ्घमलाई बिक्री गर्ने भएसँगै धेरै क्लबको कान ठाडो भएको अवस्था छ।
बेलिङ्घमलाई बायर्न म्युनिख, म्यानचेस्टर सिटी, चेल्सी, पेरिस सेन्ट जर्मेन(पिएसजी), रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेड लगायत क्लबले भित्र्याउन चाहेका छन्। बेलिङ्घमलाई भित्र्याउने दौडबाट प्रिमियर लिग क्लब लिभरपुल पछि हटिसकेको छ।
बेलिङ्घम भित्र्याउन १ सय मिलियन पाउण्ड भन्दा बढी रकम खर्च गर पर्ने भएसंगै लिभरपुल सो दौडबाट ब्याक हुने भएको हो। लिभरपुलले बेलिङ्घमका लागि खर्च हुने रकम अन्य खेलाडी भित्र्याउन लगानी गर्ने भएको छ।
लिभरपुल दौडबाट आउट भएपछि अब बेलिङ्घमसँग बायर्न म्युनिख, म्यानचेस्टर सिटी, चेल्सी, पेरिस सेन्ट जर्मेन(पिएसजी), रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेड मात्रै बाँकी छन्।
जर्मन पत्रिका विल्डले गरेको दावी अनुसार बेलिङ्घमले चेल्सी, पिएसजी र सिटी तीन क्लब नजाने निर्णय गरिसकेका छन्। बेलिङ्घम भित्र्याउने दौडमा यति बेला सबै भन्दा अगाडी रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेड रहेको बताइन्छ।
यी दुई मध्ये एक क्लबमा बेलिङ्घम ल्याण्ड हुने उच्च सम्भावना रहेको विल्डले जनाएको छ। दुवै क्लब यति बेला बेलिङ्घम भित्र्याउन गम्भीर भएर लागेका छन्। आउने समर ट्रान्सफर विन्डोमा मुख्यतः यी दुई क्लब बीच प्रतिष्पर्धा हुनेछ।