एजेन्सी – एएस रोमाका प्रबन्धक जोसे मोरिन्हो क्रिस्टियानो रोनाल्डोको अल-नासरमा सामेल नहुने भएका छन्। विभिन्न खेल मिडियाहरुका अनुसार मोरिन्हो अल नासरमा सामेल हुने सोचमा नरहेको दावी गरेका हुन्।
क्लबका वर्तमान प्रशिक्षक रुडी गार्सियासँग अल नासर छुट्टिने अवस्थामा छ। क्रिस्टियानो रोनाल्डोको आगमन पछि टोलीलाई आवश्यक सहि दिशा दिन नसकेको भन्दै गार्सियालाई अल नासरले हताउने तयारी गरेको हो।
गार्सियासँग रोनाल्डोको पनि राम्रो सम्बन्ध छैन। रोनाल्डोले पनि गार्सियाको स्थानमा अन्य प्रशिक्षक आउनुपर्ने राय राखेसंगै अल नासरले नयाँ प्रशिक्षकको खोजि गरेको बताइन्छ।
अल नासरले ल्याउन चाहेका प्रशिक्षकहरुको सूचीमा मोरिन्हो पनि रहेको विभिन्न खेल मिडियाहरु बताउँछन्। तर मोरिन्हो आफैं भने युरोप छाडेर साउदी जाने पक्षमा रहेका छैनन्।
युरोपेली फुटबलको राम्रो जानकारी राख्ने पत्रकार सान्टी एउनाका अनुसार मोरिन्हो अल नासर जाने कुनै पनि सम्भावना रहेको छैन। बरु उनी चेल्सी फर्किन तयार छन्। अल नासर जान भन्दा उनी चेल्सी फर्किन रुचाउने बताइन्छ।
ग्राहम पोटरलाई बर्खास्त गरेपछि फ्रान्क ल्याम्पार्डलाई केयरटेकर प्रबन्धकको रूपमा ब्लुजको जिम्मेवारी दिइएको छ र चेल्सीले दिर्घकालिन जिम्मेवारी लिने प्रशिक्षकको खोजि गरिरहेको छ। यस्तोमा मोरिन्होको नाम अगाडी आएको छ।
खबरका अनुसार चेल्सीबाट राम्रो प्रस्ताव आएको खण्डमा चेल्सीलाई सम्हाल्न मोरिन्हो सकारात्मक रहेका छन्। तर उनी अल नासर जाने भने कुनै सम्भावना छैन।