रोनाल्डो र उनका सहकर्मीहरुको प्रदर्शन देखेर प्रशिक्षक दिक्क !

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र उनका सहकर्मीको प्रदर्शनलाई लिएर साउदी अरेबियन क्लब अल नासरका प्रशिक्षक रुडी गार्सियाले असन्तुष्टि जनाएका छन्।

साउदी प्रो लिग अन्तर्गतको खेलमा अल नासर अल फेहा विरुद्धको खेलमा बराबरीमै रोकिएसँगै रुडी गार्सियाले असन्तुष्टि जनाएका हुन्। पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा गार्सियाले खेलाडीहरुओ प्रदर्शनलाई लिएर सन्तुष्ट हुन सक्ने अवस्था नरहेको बताए।

आइतबार राति अल नासरले साउदी प्रो लिग अन्तर्गतको खेलमा अल फेहाको सामना गरेको थियो। सो खेल गोल रहित बराबरीमा टुंगिएको थियो। खेलभर निरन्तर आक्रमण गरेपनि अल नासरले विपक्षी टोलीको डिफेन्स तोड्न सकेको थिएनन्।

सो खेलको सम्बन्धमा पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा प्रशिक्षक गार्सियाले टोलीका खेलाडीहरुलाई पछिल्लो खेलको लय कायम राख्न आग्रह गरेपनि त्यस्तो सम्भव हुन नसकेको बताए।

“नतिजा पक्कै खराब छ, यसमा खुशी हुन सक्ने अवस्था छैन। म खेलाडीहरूको प्रदर्शनबाट सन्तुष्ट महसुस गर्दिन। मैले उनीहरूलाई अन्तिम खेल (अल-अदालाहमाथि ५-० को जित) जस्तै स्तरमा खेल्न भनेको थिएँ। तर यो भएन। सात खेलहरू बाँकी छन्। दुई अंक गुमाइसकेका छौँ। तर हामी सक्दो प्रयास गर्ने छौँ।”,गार्सियाले भने।

अल फेहा विरुद्धको खेलमा बराबरी खेलेसंगै अल नासर साउदी प्रो लिगको उपाधि होडमा पछि परेको छ। अल नासर शिर्ष स्थानको अल इत्तिहाद भन्दा ३ अंकले पछि परेको छ।

प्रकाशित : , ०, ०१७:१५

एकाएक भड्किए रोनाल्डो, क्लबबाट प्रशिक्षक आउट ?