एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र स्पेनिस भेट्रान डिफेन्डर सर्जियो रामोस बीच पुनर्मिलन हुन सक्ने सम्भावना बढेको छ। साउदी क्लब अल नासरले रामोसलाई भित्र्याउने योजना बनाएसंगै यी दुई बीच पुनर्मिलन हुने सम्भावना बढेको हो।
साउदी क्लब अल नासरले रामोसलाई आउने समर ट्रान्सफर विन्डोमा भित्र्याउने योजना बनाएको स्पेनिस पत्रिका एल नासियोनलले जनाएको छ। एल नासियोनलका अनुसार रामोसलाई अल नासरले फ्री ट्रान्सफरमा भित्र्याउन सक्नेछ।
रामोस सन् २०२१ मा रियल म्याड्रिडसँगको सम्झौता सकिएपछि पेरिस सेन्ट जर्मेन(पिएसजी) आवद्ध भएका थिए। त्यसबेला उनी फ्री ट्रान्सफरमा पिएसजी पुगेका थिए। त्यसबेला उनले पिएसजीसँग दुई वर्षका लागि सम्झौता गरेका थिए।
पिएसजी र रामोस बीचको सम्झौता अहिले अन्तिम समयमा छ। आउने केहि महिना भित्रै सो सम्झौता सकिनेछ। रामोस र पिएसजी बीच सम्झौता थपका विषयमा छलफल पनि चलिरहेको छ।
तर पिएसजीले रामोसलाई पहिला भन्दा कम पारिश्रमिक अफर गरेको छ। सो अफरलाई लिएर रामोस सन्तुष्ट हुन नसकिरहेको बताइन्छ। रामोसको भविष्य अनिश्चित रहेका बेला साउदी क्लब अल नासरले उनी माथि निगरानी बढाएको एल नासियोनलले जनाएको छ।
रामोसको अल नासर ट्रान्सफर सम्भव भएको खण्डमा रामोस र रोनाल्डो बीच पुनर्मिलन हुन सक्नेछ। रामोस र रोनाल्डोले रियल म्याड्रिडमा नौ वर्ष लामो सहकार्य गरेका थिए। त्यहाँ दुई मिलेर चार पटक च्याम्पियन्स लिग जितेका थिए।