अन्ततः चेल्सीले लखेट्यो पोटरलाई !

एजेन्सी – प्रिमियर लिग क्लब चेल्सीले अन्ततः प्रशिक्षक ग्राहम पोटरलाई बर्खास्त गरेको छ। निरन्तरको कम्जोर प्रदर्शन पछि अन्ततः चेल्सीले आइतबार राति पोटरलाई प्रशिक्षक पदबाट हटाएको हो।

जर्मन प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेसंगै पोटर चेल्सीको जिम्मेवारी सम्हाल्न आइपुगेका थिए। सन् २०२२ सेप्टेम्बर यता उनले चेल्सीको जिम्मेवारी सम्हालेका थिए।

तर केहि खेलमा सकारात्मक नतिजा निकाल्न सकेपनि त्यसपछि भने पोटरले चेल्सीलाई सहि दिशा दिन सकेनन्। जनावर ट्रान्सफर विन्डोमा उनको रोजाईक खेलाडी भित्र्याउन चेल्सीले खुलेर खर्च पनि गर्यो।

तर चेल्सीको लयमा केहि फरक आएन। पछिल्लो खेलमा चेल्सी प्रिमियर लिग क्लब एस्टन भिल्लासँग समेत पराजित भयो। भिल्लाले चेल्सीलाई २-० को गोल अन्तरले पराजित गरेको थियो।

सो हारसंगै चेल्सीले पोटरलाई बर्खास्त गर्ने निर्णय गरेको बताइन्छ। पोटर चेल्सीबाट सहज बहिर्गमनका लागि तयार भएको र आपसी समझधारीमा क्लबबाट छुट्टिएको चेल्सीले आधिकारी पुष्टि गरेको छ।

चेल्सीले आफ्नो अधिकारिक वेबसाइट मार्फत च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुर्याएकोमा पोटरलाई उनको सबै प्रयास र योगदानका लागि धन्यवाद दिएको छ।

“ग्राहमले हामीलाई च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुर्‍याएका छन्, जहाँ हामीले रियल म्याड्रिडसँग सामना गर्नेछौं। चेल्सीले ग्राहमलाई उनको सबै प्रयास र योगदानका लागि धन्यवाद दिन चाहन्छ र हामी उनको भविष्यको लागि शुभकामना दिन्छौं।”,चेल्सीले लेखेको छ।

प्रकाशित : , ०, ००८:०४

बायर्नलाई नचाहिएका नागेल्सम्यान चेल्सीको प्रशिक्षक ?