एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी स्टार बर्नार्डो सिल्भालाई अब नभित्र्याउने भएको छ। विभिन्न बेलायती खेल मिडियाहरुका अनुसार बार्सिलोनाले सिल्भालाई अब नभित्र्याउने भएको हो।
गत समर ट्रान्सफर विन्डोमा बार्सिलोनाले सिल्भालाई भित्र्याउन अन्तिम समय सम्म प्रयास गरेको थियो। समर ट्रान्सफर विन्डोको अन्तिम दिन सम्म पनि बार्सिलोनाले उनलाई भित्र्याउन सक्ने सम्भावना रहेको रिपोर्टहरु बाहिर आएका थिए।
त्यसबेला सिटीले सिल्भालाई ६० मिलियन पाउण्ड भन्दा कम मूल्यमा बिक्री नगर्ने भएपछि बार्सिलोना ब्याक हुन बाध्य भएको थियो। आर्थिक संकटका कारण बार्सिलोनाले त्यसबेला सिल्भालाई भित्र्याउन सकेको थिएन।
तर अब सिल्भा भित्र्याउने योजना बार्सिलोनाले त्यागिसकेको बताइन्छ। यद्यपि डेली स्टारको रिपोर्ट अनुसार बार्सिलोनाले सिल्भाको लागि सिटीले माग गरेको ६० मिलियन पाउण्ड आउने समर ट्रान्सफरमा पनि तिर्ने छैन।
बार्सिलोना सिल्भा भित्र्याउने योजनाबाट ब्याक भैसकेको डेली स्टारले जनाएको छ। बार्सिलोनाको ध्यान सिल्भाबाट इल्के गुन्डोगन तर्फ केन्द्रित भएको बताइन्छ। इल्के गुन्डोगन र सिटी बीचको सम्झौता यहि सिजनको अन्त्यमा सकिँदैछ।
गुन्डोगन सन् २०१६ मा जर्मन क्लब बरुसिया डर्टमण्डबाट सिटी आइपुगेका हुन्। त्यस्तै सिल्भा भने सन् २०१७ मा सिटी आइपुगेका थिए। उनलाई सिटीले फ्रेन्च क्लब मोनाकोबाट खरिद गरेर ल्याएको थियो।
सम्झौता सकिएपछि उनी फ्री ट्रान्सफरका लागि उपलब्ध हुनेछन्। यस्तोमा बार्सिलोनाले गुन्डोगनलाई सित्तैमा भित्र्याउन सक्छ। आर्थिक संकटका कारण बार्सिलोनाले पछिल्लो समय फ्री ट्रान्सफरमा उपलब्ध हुने खेलाडीहरुलाई टार्गेट बनाइरहेको छ।