एजेन्सी – विश्वकप अगाडी देखि केहि समय पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो क्लब बिहिन बन्न पुगे। म्यानचेस्टर युनाइटेडसँगको सम्झौता आपसी सहमतिका रद्द गरिएपछि रोनाल्डो क्लब बिहिन बन्न पुगेका हुन्।
विश्वकप पछि रोनाल्डो केहि समय रियल म्याड्रिडको प्रशिक्षण केन्द्रमा समेत देखिए। व्यक्तिगत प्रशिक्षणका लागि रोनाल्डो रियलको प्रशिक्षण केन्द्रमा देखिएका हुन्।
रोनाल्डो त्यहाँ केहि दिन रहेका थिए। रोनाल्डो त्यहाँ हुँदा उनी रियल म्याड्रिडमा आवद्ध हुने चर्चा सेट चल्यो। तर पछि उनी रियलको प्रशिक्षण केन्द्र छाडेर दुबई पुगे, त्यहाँबाट साउदी गए।
एक स्पेनिस मिडियाका अनुसार त्यसबेला रोनाल्डोलाई क्लबमा राख्न क्लब अध्यक्ष फ्लोरेन्टिनो पेरेज सकारात्मक नै थिए। उनी क्लब बिहिन भएका रोनाल्डोलाई राख्न सकारात्मक रहेपनि क्लबका प्रशिक्षक कार्लो एन्सेलोटी भने रोनाल्डोलाई क्लबमा चाहँदैनथे।
कार्लो एन्सेलोटीले रोनाल्डोलाई नचाहेकै कारण पेरेजले रोनाल्डोलाई क्लबमा नराख्ने निर्णय गरेको स्पेनिस पत्रिका एल नेसियोनलले जनाएको छ। रियलले राख्न नचाहेसँगै रोनाल्डोले साउदी जाने निर्णय गरेको बताइन्छ।
सन् २०२१ मा पनि रोनाल्डोले रियल जाने प्रयास गरेका थिए। इटालियन क्लब युभेन्टस छाडेर उनले रियल जाने प्रयास गरेका थिए। तर त्यसबेला पनि रियलले उनलाई भित्र्याउन अस्विकार गरेको थियो। त्यसपछि उनी म्यानचेस्टर युनाइटेड पुगेका थिए।