काठमाडौं – फरवार्ड अन्जन विष्टले भुटानविरुद्ध प्रधानमन्त्री थ्री नेसन्स कपको खेलमा सुरुवात गर्ने भएका छन् । दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुने खेलमा नेपाल फाइनल प्रवेशका लागि सुखद नतिजा चाहन्छ ।
लाओसको खेलबाट एक परिवर्तन हुँदा अन्जनसँगै आक्रमणमा नवयुग श्रेष्ठ र आयुष घलान नियमित रहेका छन् । लाओसविरुद्ध पहिलो खेलमा राइट विंगमा भरत खवासले सुरुवात गरेका थिए । मनिष डाँगीले दोस्रो हाफमा भरतको स्थान लिएपनि सोचेजस्तो प्रदर्शन गर्न सकेनन् । त्यसकारण पनि प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले अन्जनलाई सुरुवातमा खेलाएका हुन् ।
कप्तान किरण चेम्जोङ गोलरक्षकमा नियमित रहेका छन् । प्रशिक्षक अनेसेले डिफेन्समा पनि पछिल्लो खेललाई निरन्तरता दिएका छन् । अनन्त तामाङ र रोहित चन्द सेन्टर डिफेन्स तथा सनिश श्रेष्ठ र विकास खवास विंगब्याकमा छन् । मिडफिल्डमा पुजन उपरकोटी, एरिक विष्ट र नविन लामा छन् ।
सहिद स्मारक ए डिभिजन लिगका दौरान चर्च ब्वाइज युनाइटेडका लागि खेल्दा चोट बोकेका अन्जनलाई प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत लाओसविरुद्ध खेल विश्राम दिइएको थियो । लिग अन्तर्गत एन्फा कम्प्लेक्समा संकटाविरुद्ध भएको चौथो खेलमा उनको अनुहारमा चोट लागेको थियो । त्यसपछि उनले च्यासल मैदानमा पाँचौ खेलमा मच्छिन्द्रविरुद्ध खेलेनन् । अन्जनले शनिबारदेखि सुरक्षा मास्क लगाएर पूर्ण प्रशिक्षण गरेसँगै आज खेलेका हुन् ।
समिकरण यस्तो :
दुवै नेपाल र भुटानले समूह चरणमा लाअोसको सामना गरिसकेका छन् । नेपालले पहिलो खेलमा लाअोसलाई २-० ले पराजित गर्दा भुटान २-१ ले पराजित भएको थियो । नेपालले फितलो प्रदर्शन गरेपनि जित हासिल गरेको थियो । भुटान र लाअोसको खेल निकै प्रतिस्पर्धात्मक चलेको थियो ।
आजको खेलमा नेपालले जित वा बराबरी हासिल गरे फाइनलमा स्थान बनाउनेछ । यसबाहेक १ गोलको अन्तरले हार बेहोरेपनि नेपालले फाइनल यात्रा तय गर्नेछ । भुटानले भने फाइनल पुग्न कम्तीमा जित हासिल गर्नुपर्ने समिकरण रहेको छ ।
लाअोसको फाइनल पुग्ने भविष्य पनि यसै खेलले निर्धारण गर्नेछ । नेपालको बराबरी वा जितले लाअोस र नेपाल फाइनल पुग्नेछन् । भुटानले ३ गोलको अन्तर वा सोभन्दा बढी गोलले जिते मात्र नेपाल बाहिरिने समिकरण रहनेछ ।