एजेन्सी – नर्वेली युवा स्टार एर्लिङ हालाण्डले बालोन डी’ओर उपाधिको दौडमा फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेलाई पछि पारेका छन्। म्यानचेस्टर सिटीका लागि उच्च प्रदर्शन गर्दै हालाण्डले एम्बाप्पेलाई पछि पारेका हुन्।
विश्वकपमा उच्च प्रदर्शन गरेका एम्बाप्पे यस अगाडी बालोन डी’ओर उपाधि दौडको दोस्रो स्थानमा रहेका थिए। तर उनलाई यस दौडमा हालाण्डले पछि पारिसकेका छन्।
एम्बाप्पेले विश्वकपमा ८ गोल गर्दै गोल्डेन बुट जितेका थिए। एम्बाप्पे आवद्ध क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) च्याम्पियन्स लिगबाट बाहिरिसकेको छ। पिएसजीलाई क्वाटरफाइनमा पुर्याउन असमर्थ रहे।
यससँगै एम्बाप्पे बालोन डी’ओर दौडको दोस्रो स्थानबाट तेस्रो स्थानमा झरे। एम्बाप्पेले पिएसजीका लागि यस सिजन ३३ खेलमा ३१ गोल गरिसकेका छन्। यस्तै उनले ८ असिस्ट पनि दिएका छन्।
उता हालाण्डले भने सिटीलाई च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गराउन महत्वपूर्ण भूमिका निभाए। उनले यस सिजन सिटीका लागि सबै प्रतियोगितामा कुल ३७ खेल खेलेका छन्।
यस बीचमा हालाण्डले ४२ गोल गरिसकेका छन् भने ५ असिस्ट दिएका छन्। हालाण्ड प्रिमियर लिग सँग-सँगै च्याम्पियन्स लिगको समेत शिर्ष गोलकर्ता रहेका छन्।
अर्जेन्टिनालाई विश्वकप दिलाउन महत्वपूर्ण भूमिका निभाएका लियोनेल मेस्सी बालोन डी’ओर दौडको शिर्ष स्थानमा रहेका छन्। पिएसजीलाई च्याम्पियन्स लिगमा टिकाउन असमर्थ रहेपनि उनले अर्जेन्टिनालाई भने विश्वकप दिलाएका थिए।