काठमाडौँ – काठमाडौँ जिल्ला अदालतमा पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी उद्योगमा थुुनछेक बहस शुरु भएको छ ।
जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासमा थुुनछेक बयान शुरु भएको उक्त अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिनुभयो । बहस सकिएपछि उहाँलाई कारागारमै राखिने वा धरौटीमा रिहा गरिने भन्ने आदेश जारी हुने बताइएको छ ।
काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध करणीसम्बन्धी कसुरमा बिहीबार मुद्दा दर्ता गरेको थियो । महराविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता भएको हो । उक्त उपदफामा कसूर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ ।
संसद् सचिवालयका एक महिला कर्मचारीलाई करणीको प्रयास गरेको अभियोगमा गत असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अदालतमा बहस भएपछि महरालाई कारागार पठाउने वा धरौटीमा रिहा हुने भन्ने फैलला हुनेछ ।