काठमाडौँ : समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महारामाथि लागेको आरोपको सत्यतथ्य छानविन गर्न माग गरेका छन् ।
संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले आफूलाई जबरजस्ती गरेको आरोप लगाएपछि सभामुख महराले पदबाट राजिनामा दिएसँगै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सो घटनाबारे स्वतन्त्र/निष्पक्ष छानवीन हुनुपर्ने माग गरेका हुन् ।
यस प्रकरणको अनुसन्धान गर्न लगातार माग गरिरहका उनले शुक्रबार ट्वीटर एकाउन्टमार्फत प्रतिक्रिया दिँदै लेखेका छन्”लोकतन्त्रमा सबभन्दा गरिमामय पद प्रतिनिधिसभाको सभामुख हो।अपराधमा सबभन्दा निकृष्ट बलात्कार हो! यी दुइ जोडिएको गम्भीर मुद्दालाई सच्चा लोकतन्त्रमा त्यत्तिकै सार्वजनिक आरोप-प्रत्यारोप गरेर वातावरण धमिल्याउन र धमिलो पानीमा माछा मार्न वा सत्ताशक्तिको बलमा दबाएर फासफुस पार्न मिल्दैन!.”
यस लगत्तै उनले अर्को ट्वीट गर्दै लेखेका छन्”५ दिनसम्म यसबारे किन कुनै छानवीन प्रक्रिया शुरू भएको छैन?२/३सरकार किन कुम्भकर्णे निद्रामा छ?छिटो उच्चस्तरीय स्वतन्त्र,निष्पक्ष छानवीन होस् र कानूनी प्रक्रिया अघि बढोस्!महराले त्यसमा पूर्ण सहयोग गरून्!नत्र जनस्तरबाट स्वतन्त्र आयोग बनाएर सत्यतथ्य स्थापित गरौं;लोकतन्त्रको रक्षा गरौं!
उनले यसअघि पनि सत्ता शक्तिको आडमा घटनालाई युटर्न गराइएको संकेत गर्दै सत्यतथ्य छानविन बाहिर ल्याउन माग गरेका थिए ।
प्रतिनिधि सभाका सभामुख महराले गत मंगलबार पदबाट राजिनामा दिईसकेका छन् । महराले प्रतिनिधि सभाका उपसभामुख समक्ष राजिनामा पत्र पेश गरेका हुन् ।