एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले आलियन्ज एरिनाको भ्रमण गर्दैछ। च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगको खेलका लागि पिएसजीले बायर्न म्युनिखको घरेलु मैदान आलियन्ज एरिनाको भ्रमण गर्न लागेको हो।
पिएसजी आज बायर्नको घरेलु मैदानमा खेल उल्ट्याउने योजनामा हुनेछ। च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा पिएसजी घरेलु मैदानमा बायर्नसँग १-० को गोल अन्तरले पराजित भएको थियो।
घरेलु मैदानमा भएको खेलमा पिएसजीले न त बलमा राम्रो नियन्त्रण राख्न सकेको थियो, न त खुलेर आक्रमण नै। यसबेला पिएसजीले खेल भर ९ प्रहार गर्दा बायर्नले १८ प्रहार गरेको थियो।
आज राति हुने खेलमा पिएसजीसँग ब्राजिलियन स्टार नेयमार हुने छैनन्। केहि समय अगाडी घाइते भएका नेयमारका लागि यस सिजन सकिसकेको छ। खुट्टामा लागेको चोटको शल्यक्रिया गर्न पर्ने भएका कारण नेयमारले पूरा सिजन गुमाउने भएका हुन्।
यससँगै अब बायर्न विरुद्धको खेल उल्ट्याउने जिम्मेवारी लियोनेल मेस्सी र किलियन एम्बाप्पेको काँधमा हुनेछ। आज दुवै खेलाडी बायर्न विरुद्ध उत्कृष्ट तालमेल गर्दै खेल उल्ट्याउने योजनामा हुनेछन्। नेयमारका अलावा प्रेस्नेल किम्पेम्बे र रेनाटो सान्चेस पनि घाइते छन्।
उता बायर्न फ्रान्सेली डिफेन्डर बेन्जामिन पाभार्ड बिना मैदानमा उत्रनेछ। पहिलो लेगमा रातो कार्ड पाएका कारण पाभार्ड पिएसजी विरुद्धको खेलका लागि निलम्बित छन्। त्यस्तै लुकास हर्नान्डेज घाइते छन्। म्यानुएल नेउर र नाउसाइर माजराउई पनि पिएसजी विरुद्ध हुने छैनन्। यधपी साडियो माने भने पिएसजी विरुद्धको खेलका लागि उपलब्ध हुनेछन्।
पिएसजी र बायर्न बीचको खेल नेपाली समय अनुसार रातको १ बजेर ४५ मिनेटमा सुरु हुनेछ। खेल कुनै पनि नेपाली च्यानलमा प्रशारण हुने छैन। खेल भारतीय च्यानल सोनी टेन २ मा हेर्न सकिनेछ।