नेयमारको चोट माथि पूर्व खेलाडीको निर्मम टिप्पणी – नेयमार नहुनु पिएसजीका लागि वरदान हो ?

एजेन्सी – बार्सिलोनाका पूर्व फरवार्ड क्रिस्टोफ डुगारीले ब्राजिलियन स्टार नेयमारलाई लागेको चोट पेरिस सेन्ट जर्मेन(पिएसजी)का लागि वरदान सावित हुन सक्ने बताएका छन्।

एक मिडियासँगको कुराकानीका क्रममा नेयमारको चोट बारे निर्मम टिप्पणी गर्दै नेयमारलाई लागेको चोट पिएसजीका लागि वरदान सावित हुन सक्ने बताएका हुन्।

चोटका कारण नेयमारले सिजनका बाँकी खेल गुमाउँदा क्लबका प्रशिक्षक क्रिस्टोफ गाल्टियरले अविश्वसनीय अवसर पाउने फ्रेन्च रेडियो स्टेशन आरएमसीसँगको कुराकानीका क्रममा डुगारीले बताए।

“नेयमार घाइते हुनु पिएसजीका लागि एक अवसर हुन सक्छ। नेयमारले सिजनका बाँकी खेल गुमाउने थाहा पाएर म खुशी छु। मलाई लाग्छ कि यो क्रिस्टोफ गाल्टियरका लागि अविश्वसनीय अवसर हो। कुनै न कुनै समय उनले नेयमारलाई टोलीबाट बाहिर राख्ने साहस गर्नैपर्थ्यो। तर नेयमार चोटका कारण आफैं टोली बाहिर हुने भएका छन्।”,डुगारीले भने।

पिएसजी लियोनेल मेस्सी र किलियन एम्बाप्पेको तालमेलमा राम्रो खेल्ने डुगारी बताउँछन्। उनका अनुसार नेयमार नहुँदा पिएसजीको टोली बढी सन्तुलित हुन्छ। पाँच डिफेन्डर, तीन मिडफिल्डर र दुई फरवार्ड सहित पिएसजीले राम्रो गर्न सक्ने डुगारीले बताए। आक्रमणमा तीन फरवार्ड उतार्दा पिएसजीले धेरै गोल बेहोर्ने गरेको डुगारीको विश्लेषण छ।

उनले भने,”पाँच (डिफेन्डर) पछाडि, तीन मिडफिल्डर र एमबाप्पे-मेस्सी अगाडि रहेको यो टोली धेरै सन्तुलित छ। यस्तो हुँदा पिएसजीले काउन्टर अट्याक गर्न सक्नेछ। आक्रमणमा रहेका तीन खेलाडीले डिफेन्ड नगर्दा पिएसजी समस्यामा पर्ने गरेको थियो, धेरै गोल बेहोर्ने गरेको थियो। त्यस्तोमा पिएसजी खतरामा पर्थ्यो।”

प्रकाशित : , ०, ०१५:२७

विश्वकप फाइनलमा एम्बाप्पेसँग भएको घम्साघम्सी बारे अन्तत: बोले एन्जो !