एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा खेल उल्ट्याउन आफूहरु लागिपर्ने बताएका छन्।
एक अन्तर्वार्ताका क्रममा मेस्सीले च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा बायर्न म्युनिखको घरेलु मैदानमा जित निकाल्न कठिन हुने भएपछि आफूहरु खेल उल्ट्याउन डटेर लाग्ने बताएका हुन्।
लिग वानको आधिकारिक वेबसाइटसँग कुराकानी गर्दा मेस्सीले पछिल्ला खेलहरुक नतिजाले आफूहरुको आत्मबल बढेको संकेत गरे। बायर्न विरूद्धको खेलमा साना-साना कुरा निर्णायक हुने बताए।
“यो मनस्थितिमा पुग्नु महत्त्वपूर्ण छ। अब हामी म्युनिख जाँदैछौं, जहाँ हामी पहिलो खेल जस्तै धेरै कठिन खेल खेल्नेछौँ। सबै कुरा सानो विवरणमा निर्भर रहनेछ। विशेष गरी उनीहरुको स्टेडियममा जित्न धेरै गाह्रो छ।”,मेस्सीले भने।
मेस्सीले पुनरागमन गर्न र च्याम्पियन्स लिगको अर्को चरणको लागि योग्य हुन सक्ने दाबी गरे। दोस्रो लेगमा सहि समयमा सहि खेलेर खेललाई उल्ट्याउने आफूहरुको योजना रहेको मेस्सीले संकेत गरे।
उनले भने,”मलाई लाग्छ कि यदि हामीले चीजहरू सही गर्यौं भने, हामी खेल उल्ट्याउन सक्षम हुनेछौं। हामी च्याम्पियन्स लिगमा हाम्रो यात्रा जारी राख्न चाहन्छौं। र हामी त्यहि प्रयास गर्ने छौँ।”
च्याम्पियन्स लिगको पहिलो चरणको खेलमा पिएसजी घरेलु मैदानमा बायर्नसँग पराजित भएको थियो। सो खेलमा पिएसजीले एक गोल बेहोर्दा जवाफी गोल भने फर्काउन सकेको थिएन।