एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलका स्टार फरवार्ड मोहम्मद सलाहले नयाँ रेकर्ड बनाएका छन्। आइतबार राति म्यानचेस्टर युनाइटेड विरुद्धको खेलका क्रममा दुई गोल गरेसँगै सलाहले क्लबका लागि नयाँ रेकर्ड बनाएका हुन्।
आइतबार राति एनफिल्डमा लिभरपुल र युनाइटेड विरुद्धको खेलमा लिभरपुल विजयी भयो। सो खेलमा लिभरपुलको तर्फबाट ७ गोल हुँदा युनाइटेडले भने एक गोल पनि फर्काउन सकेन।
लिभरपुलको जितमा सलाहले दुई गोल गरेका थिए। खेलको ६६ औं मिनेटमा सलाहले व्यक्तिगत पहिलो गोल गरेका हुन्। त्यस्तै खेलको ८३ औं मिनेटमा पनि सलाहले गोल गरेका थिए।
६६ मिनेटमा गोल गरेसँगै लिभरपुलका लागि प्रिमियर लिग गोलमा सलाहले क्लब लिजेन्ड रोबी फाउलरसँग बराबरी गरे। त्यस्तै ८३ मिनेटमा गोल गरेसँगै सलाहले फाउलरलाई पछि पारे।
लिभरपुलका लागि सलाहको गोल संख्या १ सय २९ पुगेको छ। यससँगै सलाह प्रिमियर लिगमा सबै भन्दा बढी गोल गर्ने लिभरपुल खेलाडी बनेका छन्।
सालाहले ओल्ड ट्राफोर्ड क्लब विरुद्धको अन्तिम ६ खेलमा ११ गोल गरेका छन्। युनाइटेड विरुद्ध निरन्तर गोल गर्दै आएका उनले गत सिजन युनाइटेड विरुद्ध ह्याट्रिक नै गरेका थिए।