एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेले बायर्न म्युनिख विरुद्धको खेलमा जित निकाल्न आफूहरु कटिबद्ध रहेको बताएका छन्। फ्रेन्च लिग वान अन्तर्गत नान्टेस विरुद्धको खेलमा जित निकालेपछि एक मिडियासँग बोल्नेक्रममा एम्बाप्पेले बायर्न विरुद्धको खेलमा जित निकाल्न आफूहरु दृढ रहेको बताएका हुन्।
क्यानल प्लससँगको कुराकानीका क्रममा एम्बाप्पेले बायर्न विरुद्धको खेलका लागि गोल बचत गरिरहेको बताए। आफूहरु जितका लागि बायर्नको भ्रमण गर्ने र जित निकालेर च्याम्पियन्स लिगको अर्को चरणका लागि क्वालिफाइ हुने एम्बाप्पेको भनाई छ।
पिएसजीले शनिबार राति फ्रेन्च वान अन्तर्गतको खेलमा नान्टेस विरुद्धको खेलमा ४-२ को सानदार जित निकालेको थियो। सो खेलमा एम्बाप्पेले पनि गोल गरेका थिए। नान्टेस विरुद्ध निकालेको जितसँगै आत्मविश्वास फिर्ता भएको एम्बाप्पेले बताए।
“म अब बायर्न खेलका लागि गोलहरू बचत गर्दैछु। हामी त्यहाँ जित्न र क्वालिफाइ हुन जाँदैछौं। हामी दृढ छौं, हामीले हाम्रो आत्मविश्वास फिर्ता पाएका छौँ। र हामी त्यहाँ जित्न जान्छौं।”,एम्बाप्पेले भने।
एम्बाप्पेका लागि शनिबारको रात धेरै नै विशेष रह्यो। लिग वान अन्तरगत शनिबार राति नान्टेसमाथि ४–२ को रोमाञ्चक जितमा एक गोल गरेसँगै एमबाप्पे पिएसजीको सर्वाधिक गोलकर्ता बनेका छन्।
एमबाप्पेले उरुग्वेली फरवार्ड एडिन्सन काभानीलाई पछि पारेका हुन् । २४ वर्षीय एमबाप्पेले पिएसजीका लागि २४७ खेलमा २०१ गोल गरेका छन् । त्यसअघि काभानीले ३०१ खेलमा २०१ गोल गर्दै पिएसजीको सर्वाधिक गोलकर्ता बनेका थिए ।