काठमाडौँ : काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलाई डेंगुको संक्रमण देखिएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि स्वास्थ परीक्षणका लागि अस्पताल पुगेका शाक्यलाई डेंगुको संक्रमण भएको पुष्टि भएको हो ।
उनलाई उपचारका लागि ब्लू क्रस अस्पताल त्रिपुरेश्वरमा भर्ना गरिएको बताइएको छ । यसअघि कृषि मन्त्री चक्रपाणि खनाललाई पनि डेंगुको संक्रमण देखिएको थियो ।
लामखुट्टेको टोकाईबाट सर्ने यो रोगको संक्रमणबाट काठमाडौँ उपत्यका लगायत सुनसरी, मोरङ, झापा लगायतका जिल्लामा एक दर्जन भन्दा बढीले ज्यान गुमाईसकेका छन्। यस खाले संक्रमणबाट बाँच्न विभिन्न उपाए अपनाउन अस्पतालका चिकित्सकले आग्रह गरेका छन्।
डेंगुको कारण यो वर्ष सयौँ घर परिवार प्रभावित भएका छन् ।
तीन सहकारी एकीकरण
बगनासकाली गाउँपालिकामा बलियो पूँजी र उचित व्यवस्थापनका लागि फरक पहिचानका सहकारी एकीकरण भएका छन् । फरक पहिचानसहित स्थापना भएका पूँजी र व्यवस्थापन कमजोर रहेका सहकारी संस्थाबीच एकीकरण गरिएको छ । यहाँस्थित तीन सहकारी एकीकरण भएपछि गाउँपालिकास्तरीय सहकारी बनेको हो ।
वडा नं ८ स्थित बराङ्दी स्वावलम्बन विकास बचत तथा ऋण सहकारी, महिला जागृति बराह बहुउद्देश्यीय सहकारी र वडा नं ९ स्थित सिर्जना सहकारी संस्था एकीकरण भएका हुन् । गाउँपालिकाबाट एकीकरणका लागि सैद्धान्तिक सहमतिअनुरुप एकीकरण गरिएको बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद भुसालले बताउनुभयो । सहकारी एकीकरणले पूँजी बलियो र प्रभावकारी व्यवस्थापन हुने उहाँको विश्वास छ ।
एकीकरणपछि सहकारी सदस्यमा आर्थिक पहँुच विस्तार हुनेछ । एकीकरणपछि नयाँ बनेको सहकारीको नाम बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था राखिएको छ । सहकारीका शेयर सदस्यको सङ्ख्या एक हजार २२५ पुगेको छ । शेयर पूँजीतर्फ रु १७ लाख, बचततर्फ रु ३८ लाख र रु दुई करोड ८० लाख ऋण लगानी छ ।
गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले गरिबी हटाउन र व्यावसायिक बनाउन सहकारीको ठूलो भूमिका रहेको बताउनुभयो । ससाना पूँजीमा सञ्चालित सहकारी एककीरण गरी नमूना काम भएको उहाँको भनाइ छ । गाउँपालिकाका उपाध्यक्ष सरस्वती चिदीले सहकारीले गरीब तथा विपन्न समुदायका नागरिकको जीवनस्तर सुधार ल्याउन सफलदायी हुने विश्वास व्यक्त गर्नुभयो । जिल्ला सहकारी सङ्घका अध्यक्ष धु्रवराज अधिकारीले सहकारीको मूल्य र मान्यताअनुसार नै सहकारीको एकता र उचित व्यवस्थापन गर्न खाँचो रहेको बताउनुभयो ।