रियलका युवा स्टारमा पिएसजीको नजर, लिन सक्छन् एम्बाप्पेको स्थान !

एजेन्सी- फ्रेन्च युवा स्टार किलियन एम्बाप्पे पेरिस सेन्ट जर्मेन(पिएसजी)मा असन्तुष्ट रहेको खबर आइरहेका बेला क्लब उनको स्थान लिन सक्ने सम्भावित खेलाडीको खोजिमा जुटेको छ। विभिन्न फ्रेन्च मिडियाहरुका अनुसार पिएसजी एम्बाप्पेले क्लब छाडेको खण्डमा उनको स्थान लिन सक्ने खेलाडीको खोजिमा जुटेको हो।

पिएसजीले एम्बाप्पेले क्लब छाडेको अवस्थालाई मध्यनजर गर्दै उनको स्थान लिन सक्ने खेलाडी बारे अध्ययन अगाडी बढाएको फ्रेन्च मिडियाहरु बताउँछन्। पिएसजीले एम्बाप्पेको स्थान लिन सक्ने खेलाडीमा अहिले स्पेनिस महारथी रियल म्याड्रिडका भिनिसियस जुनियरलाई पहिचान गरेको बताइएको छ।

गत समर ट्रान्सफर विन्डोमै एम्बाप्पेले पिएसजी छाड्न सक्ने अवस्था थियो। तर विभिन्न कारणले एम्बाप्पेले पिएसजीमै रहने निर्णय गरे। एम्बाप्पेको पिएसजीमा सन् २०२५ सम्मका लागि सम्झौता छ।

तर पनि एम्बाप्पेले पिएसजी छाड्न सक्ने सम्भावना टरिसकेको भने छैन। उनी पिएसजीमा पछिल्लो समय असन्तुष्ट रहेको चर्चा गर्न थालिएको छ। उनले क्लब छाड्न सक्ने सम्भावनालाई नकार्न नसकिने फ्रेन्च मिडियाहरु बताउँछन्।

पिएसजीले एम्बाप्पेको स्थानमा ब्राजिलियन युवा स्टार भिनिसियसलाई भित्र्याउने प्रयास गर्ने फ्रेन्च मिडियाहरुको दावी छ। भिनिसियस पछिल्लो समय रियलमा त्यति सन्तुष्ट छैनन्। लालिगाका खेलहरुका क्रममा रंगभेदी दुर्व्यवहारलाई लिएर उनी असन्तुष्ट रहेको बताइन्छ।

ब्राजिलियन विङ्गर सान्टियागो बर्नाबेउको दीर्घकालीन परियोजनाको हिस्सा हुन्। क्लबले उनको रिलिज क्लज ८ सय ६० मिलियन पाउण्ड राखेको छ। जसले उनलाई क्लब छाड्न धेरै नै कठिन बनाउन सक्छ। तर जे जसो भएपनि पिएसजीले उनलाई भित्र्याउन प्रयास गर्न सक्ने चर्चा फ्रेन्च मिडियाहरु गरिरहेका छन्।

प्रकाशित : , ०, ०१३:४५

जिदानसँग अब तीन विकल्प, सबै भन्दा अगाडी रियल फिर्ती !