एजेन्सी – पोर्चुगलका पूर्व प्रशिक्षक फर्नान्डो सान्तोस पोल्याण्डको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । ६८ वर्षीय सान्तोसलाई पोल्याण्डले मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
पोल्याण्डको प्रशिक्षकका लागि इंल्याण्डका पूर्व मिडफिल्डर स्टेभन जेरार्डको नाम चर्चामा रहेपनि पोल्याण्ड फुटबल एसोसिएनले सान्तोसलाई प्रशिक्षक बनाएकाे हाे ।
विश्वकपपछि नै पोल्याण्डका मुख्य प्रशिक्षक चेज्ला मिच्नीविजले आफ्नो पद छाडेपछि पोल्याण्डको राष्ट्रिय टोलीको पद रिक्त रहेको थियो ।जेरार्ड प्रिमियर लिग क्लब एस्टन भिल्लाबाट गत अक्टोबरमा बर्खास्त गरेको थियो ।
सान्तोषले कतार विश्वकपछि पोर्चुगलको टिम छाडेका थिए । सान्तोसले पोर्चुगललाई सन् २०१६ को युरोकप र सन् २०१९ को नेसन्स लिगको उपाधि जिताएका थिए ।
तर पोर्चुगल कतारमा गत डिसेम्बरमा सम्पन्न फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा मोरक्कोसँग पराजित हुँदै बाहिरिएको थियो ।सान्तोसले प्रशिक्षकको रुपमा कामलाई निरन्तरता दिन पाउँदा खुशी लागेको बताएका छन् ।
पोलिस फुटबल महासंघका प्रमुख सेजारी कुलेजाले उत्कृष्ट प्रशिक्षक छनोट गरेको बताएका छन् । अब सान्तोषले सन् २०२४ को जर्मनीमा हुने युरोपियन च्याम्पियनसिपसम्म नेतृत्व गर्नेछन् । सान्तोसले यसअघि २०१०–२०१४ सम्म ग्रीसको प्रशिक्षक बनेका थिए । उनले ग्रीसलाई युरो र विश्वकपमा छनोट गराएका थिए ।