एजेन्सी – अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले सन् २०२२ को विश्वकपमा उच्च प्रदर्शन गरे। मेस्सीले विश्वकपभर सात गोल गर्दै तीन असिस्ट दिएका थिए। मेस्सीले विश्वकपका हरेक चरणमा गोल गर्न सफल भएका थिए।
मेस्सीले समूहचरण देखि फाइनल सम्म नै गोल गरे। मेस्सीको सो प्रदर्शनका कारण उनलाई विश्वकपकै उत्कृष्ट खेलाडीको रुपमा सम्मान गरिएको थियो। मेस्सीलाई गोल्डेन बल प्रदान गरिएको थियो।
विश्वकपमा मेस्सीले गोल्डेन बल जितेको यो दोस्रो पटक हो। मेस्सीले सन् २०१४ को विश्वकपमा पनि विश्वकप जितेका थिए। ब्राजिलमा भएको विश्वकपमा उनले ४ गोल गरेका थिए भने एक असिस्ट दिएका थिए।
यसै बीच मेस्सीले त्यसबेला जितेको गोल्डेन बलको विषयमा फिफाका पूर्व अध्यक्ष सेप ब्लाटरले हालसालै मुख खोलेका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा ब्लाटरले मेस्सी सन् २०१४ को विश्वकपमा गोल्डेन बलको हकदार थिएनन् भन्ने दावी गरे।
मेस्सीलाई उत्कृष्ट खेलाडीको रुपमा गोल्डेन बल दिने निर्णय त्रुटिपूर्ण रहेको ब्लाटरको भनाई छ। त्यसबेला जर्मन अन्तर्राष्ट्रिय थोमस मुलर र नेदरल्यान्ड्सका आर्जेन रोबेनलाई पछि पार्दै उत्कृष्ट खेलाडीको रूपमा मेस्सीले गोल्डेन बल जितेका थिए।
“के म कूटनीतिक रुपमा उत्तर दिन खोजूँ वा म तपाईलाई सत्य भनूँ? लियोनेल मेस्सीलाई प्रतियोगिताको उत्कृष्ट खेलाडीको रूपमा उभिएको देख्दा म आफैं अलिकति छक्क परेको थिएँ। मलाई लाग्छ कि निर्णय गलत थियो”,पूर्व अध्यक्ष ब्लाटरले भने।