एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका बालोन डी’ओर विजेता बेन्जेमाका लागि सन् २०२२-२३ को सिजन त्यति राम्रो गइरहेको छैन। सिजनको सुरुवात देखि नै उनलाई शरीरले साथ दिएको छैन।
सिजनको आधा-आधि समय बितिसक्दा उनी कयौं पटक घाइते भइसकेका छन्। घाइते भएका कारण उनले रियलका लागि धेरै खेल गुमाएका छन्। बेन्जेमाले कतारमा भएको विश्वकप पनि चोटकै कारण गुमाउनु परेको थियो।
बेन्जेमा विश्वकपको तयारीका क्रममा घाइते हुन पुगेका थिए। बेन्जेमा घाइते भएको हुँदैनथे भने विश्वकपको नतिजा छुट्टै पनि हुन सक्थ्यो। विश्वकपको फाइनलमा फ्रान्स अर्जेन्टिनासँग पराजित भएको थियो।
बेन्जेमा आवश्यक परेको खण्डमा चमत्कार नै गर्न सक्ने खेलाडीको रुपमा चिनिन्छन्। त्यो उनले गत सिजन च्याम्पियन्स लिगमा प्रमाणित गरेका थिए। उनले हारिसकेको खेलमा पनि रियललाई जित दिलाउन सफल भएका थिए।
सिजनमा पटक-पटक घाइते भएपनि क्रमिक रुपमा उनी फर्ममा फर्किरहेका छन्। बेन्जेमाले पछिल्ला ६ खेलमा ६ गोल गरेका छन्। रियल कम्जोर लयमा रहेपनि बेन्जेमाको लयले रियलका समर्थकहरुलाई यति बेला उत्साहित बनाइरहेको छ।
समग्रमा बेन्जेमाले यस सिजन रियलका लागि कुल १८ खेल खेलेका छन्। जसमा उनले १२ गोल गर्दै एक असिस्ट दिएका छन्। बेन्जेमा क्रमिक रुप सन् २०२१-२२ कै लयमा फर्किने हो भने रियलले अझै पनि धेरै राम्रो सफलता यस सिजन पनि हाँसिल गर्न सक्छ।