इटालियन प्रकाशन क्याल्सियोमर्काटोवेबका अनुसार प्रिमियर लिग क्लब लिभरपुलले आउँदो समरमा इटालियन क्लब युभेन्टसका विंगर फेडेरिको चिएसा अनुबन्ध गर्ने योजना बनाएको छ।
विगतमा केही आर्थिक हिसाब किताब लुकाएको आरोपमा ओल्ड लेडीले जारी सिजनको सरी-ए तालिकाबाट १५ अंक गुमाएका छन्, जसले उनीहरुलाई तेस्रोबाट सिधै १० औं स्थानमा झारेको छ। युभेले उक्त कार्य नगरेको जोड दिँदै गर्दा उनीहरु माथि कारबाही भने चालु भइसकेको छ। १५ अंक गुमाएपछि युभेन्टसको १८ खेलबाट २२ अंक रहेको छ। यसले उनीहरुको अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना निकै कमजोर बनाएको छ।
युभेन्टस हाल चौंथो स्थानमा रहेको लाजियो भन्दा १२ अंकले पछाडी रहेको छ। यसैबीच, वर्तमान आर्थिक संकटबाट निस्किनका लागि इतलियन दिग्गज आउँदो ट्रान्सफर विन्डोमा आफ्ना केही खेलाडी बेच्न बाध्य हुनसक्छ, जसको कारण उनीहरु आफ्ना युवा स्टार चिएसालाई लगभग ६० मिलियन युरोको शुल्कमा बेच्न खुला हुनसक्छन्।
फरवार्ड लाइनको हरेक स्थानमा खेल्न सक्षम इटालियन स्टारलाई जोर्गन क्लोपको टोलीमा मोहम्मन सलाहको दीर्घकालीन उत्तराधिकारीको रूपमा हेरिएको छ। गत सिजनको मध्यबाट नै इजिप्सियन स्टारको प्रभाव कम हुँदै गर्दा उनको सम्झौता एनफिल्डमा २०२५ बाट समाप्त हुनेछ।