नापोलीले रोकिने नाम लिएन, शिर्ष स्थानमा अग्रता थप बढायो !

एजेन्सी – इटालियन सिरी ‘ए’ काे शीर्षस्थानमा नेपोलीले १२ अंकको अग्रता कायम गर्न सफल भएका छन् । सिरी ‘ए’ अन्तरगत शनिबार राति भएको खेलमा घरेलु टोली सालेरनिटानामाथि २–० को सहज जित निकाल्दै नेपोलीले शीर्षस्थानमा फराकिलाे अग्रता कायम गर्न सफल भएका हुन् ।

नेपोलीले एसी मिलानलाई १२ अंकले तथा तेस्राे स्थानकाे इन्टर मिलानलाई १३ अंकले पछि पारेकाे छ । स्टेडियो एरेची सालेरनोमा नेपोलीको जितमा जियोभानी डि लोरेन्जो र भिक्टर ओसिमहेनले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो ।

घरेलु टोलीविरुद्ध नेपोलीले अग्रता लिन पहिलो हाफको अन्तिम समय नै कुर्नुपरेको थियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा लोरेन्जोले गोल गर्दै नेपोलीलाई १–० को अग्रता दिलाए । उनले आन्द्रे फ्रान्क जम्वो एनगुइसाको पासमा गोल गर्न सफल भएका थिए ।

दोस्रो हाफको शुरुमै नेपोलीले अग्रता दोब्बर बनायो । ४८औं मिनेटमा भिक्टरले गोल गर्दै नेपोलीलाई २–० ले अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा नेपोली विजयी भयो ।

यस जितसँगै नेपोलीको १९ खेलबाट ५० अंक पुगेको छ । एक खेल कम खेलेको एसी मिलानको ३८ अंक छ । पराजित सालेरनिटाना १८ अंक जोडेर १६औं स्थानमा छ ।

प्रकाशित : , ०, ००९:०३

रोनाल्डोको डेब्यूलाई लिएर साउदी प्रो लिगका अध्यक्ष उत्साहित, पूरा विश्वको ध्यान साउदीमा हुने विश्वास !