एजेन्सी – सन् २०१७ को समर ट्रान्सफर विन्डोमा क्याटलान क्लब बार्सिलोनाले ब्राजिलियन स्तर नेयमारलाई बिक्री गर्यो। गएको केहि वर्ष देखि क्लबमा रहेर तहल्का मच्चाइरहेका नेयमारलाई बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)लाई बिक्री गरेको थियो।
त्यसबेला नेयमारको ट्रान्सफरले विश्वभर चर्चा पाएको थियो। नेयमारको पिएसजी स्थान्तरण फुटबल इतिहाँसकै सबै भन्दा महँगो ट्रान्सफर थियो। त्यसबेला पिएसजीले नेयमारका लागि २ सय २० मिलियन खर्च गरेको थियो।
त्यसबेला पिएसजीले बनाएको सो रेकर्ड अहिले सम्म पनि तोडिएको छैन। साथै सो रेकर्ड छुट्टै तोडिने सम्भावना पनि देखिँदैन। त्यति महँगो ट्रान्सफर अहिले पनि कुनै क्लबले गर्न सक्दैनन्।
पिएसजीले नेयमारलाई च्याम्पियन्स लिग जित्ने योजना सहित भित्र्याएको थियो। तर नेयमारले पिएसजीमा अपेक्षा गरिएजस्तो प्रदर्शननै गर्न सकेनन्। पिएसजी गएयता नेयमार कयौं पटक घाइते भए।
गत सिजन त उनले पिएसजी गएयताकै कम्जोर प्रदर्शन गरेका थिए। तर जारी सिजनमा भने उनले राम्रो प्रदर्शन गरेका छन्। विश्वकप अगाडी उनी धेरै राम्रो लयमा थिए। विश्वकप पछि केहि कम्जोर देखिएपनि उनी पुनः राम्रो लयमा फिर्ता हुने अनुमान गर्न सकिन्छ।
विभिन्न खेल मिडियाहरुले सार्वजनिक गरेको रिपोर्टहरुलाई मान्ने हो भने नेयमारका लागि मात्रै पिएसजीको ५ सय मिलियन युरो खर्च भइसकेको छ। नेयमारको ट्रान्सफर र पारिश्रमिकमा पिएसजीको ५ सय मिलियन युरो खर्च भइसकेको एल रिफार्माले जनाएको छ।
हालको अवस्थामा पिएसजीले नेयमारलाई वार्षिक ४३ मिलियन युरो पारिश्रमिक दिँदै आएको छ। पारिश्रमिक ट्रान्सफर शुल्क, अन्य बोनस र ट्रान्सफर सम्भव गराउने एजेन्टहरुको कमिसन सहित पिएसजीले ५ सय मिलियन भन्दा बढी खर्च गरिसकेको बताइन्छ।