रियल म्याड्रिड माथि पुन: चढ्यो गत सिजनको माता, २ गोलले पछि परेपनि गर्यो कम्ब्याक !

एजेन्सी – खेलको अन्त्यतिर डेनी केबालोसले गोल गरेपछि रियल म्याड्रिड उत्कृष्ट पूरागमन जितका साथ कोपा डेल रेको क्वार्टरफाइनल पुग्न सफल भएको छ । गएराती रियलले भिल्लारियललाई ३–२ ले हराएको छ ।

पहिलो हाफमै २–० पछि परेको रियलले दोस्रो हाफमा पूनरागमनका साथ जित निकालेको थियो । केबालोसले ८६ औं मिनेटमा निर्णय गोल गर्दै रियलको जित पक्का गरेका थिए । आइतबार मात्र बार्सिलोनासँग सुपर कोपा डे स्पानाको फाइनलमा पराजित भएको रियल बिहीबार पहिलो हाफमा पछि परेको थियो ।

चौथो मिनेटमा नै इटिनी कापोयुले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाए । चुकोएजेले ४१ औं मिनेटमा अर्को गोल थपेपछि भिल्लारियलको अग्रता दोब्बर भएको थियो । तर ५७ औं मिनेटमा भिनिसियस जुनियरले गोल फर्काउँदै रियलको आशा जीवित पारे । ६९ औं मिनेटमा इडर मिलिटोले बराबरी गोल गर्दै रियललाई खेलमा फर्काए । केबालोसको गोल खेलको निर्णायक बन्यो ।

अर्को खेलमा बार्सिलोना सहज जितका साथ कोपा डेल रेको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । तेस्रो श्रेणीको केउटालाई ५–० ले हराउँदै बार्सिलोनाले सजिलो जित निकालेको हो । रोबोर्टो लेवान्डोस्कीले २ गोल गरेको खेलमा राफिनाको गोलबाट बार्सिलोनाले ४१ औं मिनेटमा अग्रता बनाएको थियो ।

लेवान्डोस्कीले ५० औं मिनेटमा गोल गर्दा बार्सिलोना २–० ले अघि बढ्यो । आन्सु फातीले ७० औं मिनेटमा गोल थपे । उनले एकल प्रयासमा गोल गरेका थिए । त्यसको सात मिनेटपछि मिडफिल्डर फ्रान्क केस्सीले शक्तिशाली हेडरमार्फत गोल गर्दा टोली ४–० ले अगाडि लाग्यो । लेवान्डोस्कीले खेलको अन्तिम मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनको जित सहज रह्यो ।

प्रकाशित : , ०, ०१६:३७

नेयमारका कारण पिएसजीको डुब्यो कसैले नसोचेको रकम, बाहिरियो छक्क पार्ने रिपोर्ट !