पेरिस सेन्ट जर्मेन (पीएसजी) का प्रशिक्षक क्रिस्टोफर ग्याल्टियरले बिहिबार राति साउदी अल-स्टार विरुद्ध हुने मैत्रीपूर्ण खेललाई कुनै पनि आधारमा हल्का रूपमा नलिने बताएका छन्। पीएसजीले आज राति नेपाली समय अनुसार १०:४५ बाट सुरु हुने खेलमा अल-नासर र अल-हिलालको संयुक्त ११ सँग खेल्नेछ।
किंग फाहद अन्तराष्ट्रिय रंगशालामा हुने खेलमा लामो समय देखिका प्रतिद्वन्दी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो आमने-सामने हुनेछन्। यसै महिना मात्र प्रति वर्ष २०० मिलियन कमाउने सम्झौतामा हस्ताक्षर गर्दै अल-नासरसँग अनुबन्ध भएका रोनाल्डोले यस खेलका लागि साउदी अल-स्टारको कप्तानी गर्नेछन्।
बिहिबार हुने खेल मैत्रीपूर्ण खेल भएपनि आफनो टोलीले त्यसलाई हल्का रूपमा नलिने पीएसजी प्रशिक्षकले बताएका हुन्। उनका अनुसार साउदी भूमिमा दुवै टोलीका तर्फबाट दृढ मानसिकता भएका खेलाडी मैदानमा हुनेछन्, जस्तै रोनाल्डो, मेस्सी, एम्बाप्पे, नेयमार, आदि। खेलअघि भएको एक पत्रकार सम्मेलनमा बोल्दै ग्याल्टियरले भने, “यो पक्कै पनि मैत्रीपूर्ण खेल हो तर प्रशिक्षण हैन। मैदानमा निक्कै प्रतिस्पर्धात्मक खेलाडी हुनेछन्। यो उचित रूपमा प्रतिस्पर्धात्मक खेल हो, यसलाई हामीले च्यारिटी खेलको रूपमा लिएका छैनौं।”\
यस खेल मार्फत डिसेम्बर २०२० पछि पहिलोपटक मेस्सी र रोनाल्डो आर-अर्काको आमने-सामने हुन लागेका छन्। अन्तिम पटक यी दुई २०२०-२१ च्याम्पियन्स लिगको समूह चरणको खेलमा भिडेका थिए।