धरापमा आर्सनल, तीन खेलाडी प्रतिबन्धको खतरामा !

एजेन्सी – प्रिमियर लिग लिडर आर्सनलका तीन खेलाडी एक खेल प्रतिबन्धको खतरामा रहेका छन्। प्रिमियर लिगको आधा सिजन भन्दा अगाडी नै चार पहेंलो कार्ड पाएकासँगै तीन खेलाडी एक खेल प्रतिबन्धको खतरामा परेका हुन्।

आर्सनलले प्रिमियर लिगको जारी सिजनमा १८ खेल खेलेको छ। यस बीचमा आर्सनलका तीन खेलाडीले चार-चार पहेंलो कार्ड पाइसकेका छन्। अहिले सम्म चार पहेंलो कार्ड पाइसकेका खेलाडीहरुमा बुकायो साका, गेब्रियल म्यागाल्हेस र विलियम सालिबा रहेका छन्।

अब आउने खेलमा जसले थप पहेंलो कार्ड पाउँछ, उ एक खेलका लागि प्रतिबन्धमा पर्नेछ। आउने आइतबार राति आर्सनलले प्रिमियर लिगको १९ औं खेलमा म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ।

सो खेल आर्सनलका लागि विभिन्न कारणले गर्दा महत्वपूर्ण रहनेछ। सो खेलमा बुकायो साका, गेब्रियल म्यागाल्हेस र विलियम सालिबा मध्ये कसैलेपनि पहेंलो कार्ड नपाउन् भन्ने पक्षमा आर्सनल रहनेछ।

एफएको नियम अनुसार यदि कुनै पनि खेलाडीले सिजनको पहिलो हाफमै ५ पहेंलो कार्ड पाउँछ भने सो खेलाडी एक खेलका लागि प्रतिबन्धमा पर्नेछ। यसको अर्थ म्यानचेस्टर युनाइटेड विरुद्धको खेल आर्सनलका लागि यस सिजनको पहिलो हाफको अन्तिम खेल रहनेछ।

आर्सनल अहिले प्रिमियर लिगको शिर्ष स्थानमा रहेको छ भने युनाइटेड चौंथो स्थानमा रहेको छ। युनाइटेड र आर्सनल दुवै जित निकाल्ने दाउमा हुनेछ। आर्सनललाई पराजित गरेको खण्डमा युनाइटेड प्रिमियर लिगको दाबेदारको रुपमा देखा पर्नेछ। तर आर्सनलले जितेको खण्डमा भने आर्सनल प्रिमियर लिग उपाधि दौडमा एक कदम अगाडी बढ्नेछ।

प्रकाशित : , ०, ०१०:०३

दुई वर्ष पछि आमने-आमने हुँदै मेस्सी र रोनाल्डो !