एजेन्सी – सन् २०२० को च्याम्पियन्स लिगको अन्तिम १६ मा जर्मन क्लब बरुसिया डर्टमण्ड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) आमने-सामने भएका थिए।
अन्तिम १६ को पहिलो लेगमा डर्टमण्डले नेयमार र किलियन एम्बाप्पे जस्तै खेलाडी भएको टोलीलाई पराजित गरेको थियो। घरेलु मैदानमा डर्टमण्डले पिएसजीलाई २-१ को गोल अन्तरले पराजित गर्न सफल भएको थियो।
सो खेलमा डर्टमण्डमा रहेका नर्वेली युवा स्टार एर्लिङ हालाण्डले उच्च प्रदर्शन गरेका थिए। पिएसजी विरुद्ध डर्टमण्डबाट भएका दुवै गोल हालाण्डले गरेका थिए।
पिएसजी विरुद्ध गोल गरेपछि हालाण्डले एक नौलो सेलेब्रेसन गरेका थिए। गोल गरेपछि उनी ध्यानमा बसेको जस्तै गरेर गोलको उनले खुशियाली मनाएका थिए। हालाण्डको सो सेलेब्रेसनलाई योगा सेलेब्रेसन भन्न थालियो।
त्यसपछि पिएसजीको घरेलु मैदानमा भएको दोस्रो लेगको खेलमा डर्टमण्ड पराजित हुन पुग्यो। पिएसजीका खेलाडीहरुले हालाण्डको सो सेलेब्रेसन गरेर हालाण्डलाई गिज्याउने प्रयास गरेका थिए। पछि सो सेलेब्रेसन थप खेलाडीहरुले कपि गरेका थिए।
यसै बीच एक अन्तर्वार्ताका क्रममा हालाण्डलाई योगा सेलेब्रेसनका बारेमा प्रश्न गरिएको थियो। सो प्रश्नको जवाफ दिनेक्रममा हालाण्डले तनाव कम गर्न आफूले ध्यान गर्ने गरेको सुनाए।
उनले भने,”मलाई लाग्छ कि यो साँच्चै राम्रो कुरा हो। आराम गर्न र धेरै नसोच्न ध्यान गर्नुपर्छ। मलाई लाग्छ कि यो साँच्चै राम्रो कुरा हो। म सकेसम्म तनाव नलिन खोज्छु। तनावबाट मुक्त हुन र नराम्रा विचार देखि छुटकारा पाउन मेरा लागि ध्यानले धेरै राम्रो काम गरेको छ। यो वास्तवमै व्यक्तिगत हो।”