एजेन्सी – फ्रेन्च लिग वान लिडर पेरिस सेन्ट जर्मेन(पिएसजी)ले आज राति रेनेसको सामना गर्दैछ। फ्रेन्च लिग वानको १९ औँ खेलमा पिएसजीले रेनेसको सामना गर्न लागेको हो।
खेल रेनेसको घरेलु मैदानमा हुनेछ। खेल नेपाली समय अनुसार रातको १ बजेर ३० मिनेटमा सुरु हुनेछ। आज हुने खेलमा पिएसजी सिजनको १६ औं जितको खोजिमा हुनेछ भने रेनेस ११ औं जितको खोजिमा हुनेछ।
पिएसजी यति बेला फ्रेन्च लिगको शिर्ष स्थानमा रहेको छ। सिजनका १८ खेल खेल्दा पिएसजीले मात्रै एक खेलमा हार बेहोरेको छ। २ खेलमा बराबरी खेल्दा उसले १५ खेलमा जित निकालेको छ। पिएसजी दोस्रो स्थानको लेन्स भन्दा अंकले अगाडी छ। अहिले सम्म पिएसजीले ४७ अंक बनाएको छ ।
त्यस्तै रेनेसले पनि अहिले सम्म १८ खेल खेलेको छ। १० जित, ४ हार र ४ बराबरी सहित ३४ अंक जोडेको रेनेस फ्रेन्च लिग वानको चौंथो स्थानमा रहेको छ। शिर्ष चारमा रहिरहन आज रेनेसलाई जित निकाल्ने दबाब भने पक्कै हुनेछ।
मेस्सी खेल्ने सम्भावना कति ?
आज हुने खेलमा अर्जेन्टिनी स्टार लियोनेल मेस्सी खेल्ने उच्च सम्भावना रहेको छ। विश्वकप जितेयता उनले पिएसजीका लागि एक खेलिसकेका छन्। पछिल्लो खेलमा उनले गोल गरेका थिए। पिएसजीले मेस्सीलाई रेनेस विरुद्ध खेल्न सक्ने प्रारम्भिक खेलाडीहरुको सूचीमा राखेको छ।
पिएसजीले खेलका लागि सार्वजनिक गरेको २१ सदसिय प्रारम्भिक टोलीमा मेस्सीका अलावा नेयमार, किलियन एम्बाप्पे, सर्जियो रामोस लगायतको नाम रहेको छ। आज रेनेस विरुद्धको खेलमा पिएसजीका तीन स्टार फरवार्ड मेस्सी, नेयमार र एम्बाप्पे तीनै मैदानमा उत्रन सक्ने सम्भावना छ। यदि त्यस्तो भएमा रेनेस विरुद्धको खेल विश्वकप पछि तीन स्टार एक साथ मैदानमा उत्रिएको पहिलो खेल हुनेछ।